यो वर्षको प्रज्ञा पुरस्कार आठ जनालाई

यो वर्षको प्रज्ञा पुरस्कार आठ जनालाई

नेपाल प्रज्ञा–प्रतिष्ठानले विभिन्न प्रज्ञा पुरस्कारको घोषणा गरेको छ । प्रज्ञा सभाको निर्णयअनुसार प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र तथा दर्शनशास्त्रका क्षेत्रमा विशिष्ट योगदान दिएका आठ जना स्रष्टालाई एक लाख रुपैयाँको पुरस्कार दिने निर्णय गरेको बताइएको छ ।

प्रतिष्ठानले २०७९ सालका निम्ति ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’ बाट रुपन्देहीका रामचन्द्र भट्टराई, मधेश तराईमा बोलिने ’नेपाल प्रज्ञा मातृभाषा’ बाट कञ्चनपुरकी शर्मिलाकुमारी चौधरी, भोजपुरका प्रा. डा. प्रेमकुमार खत्री र दोलखाका खेन्पो डवाब वोसेर लामा शेर्पालाई एक लाख रूपैयाँ राशीको पुरस्कार प्रदान गरिने बताइएको छ ।

त्यस्तै, ’नेपाल प्रज्ञा संस्कृति पुरस्कार’ बाट काठमाडौंका प्रा. विद्यानाथ उपाध्याय, ’नेपाल प्रज्ञा दर्शनशास्त्र पुरस्कार’ बाट काठमाडौंका डा. नयनाथ पौडेल, नेपाल प्रज्ञा सामाजिक शास्त्र पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यो पुरस्कार हरेक एक वर्षमा प्रदान गर्ने गरिन्छ ।

२०७८÷०७९ का लागि भारत, दार्जिलिङका नरबहादुर दाहाल र झापाका प्रा.डा. गोविन्दराज भट्टराईलाइ दुई लाख रुपैयाँ राशीको भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ ।

प्रत्येक चार वर्षमा प्रदान गरिने नेपालकै सर्वोच्च र विशिष्ट पुरस्कार चार लाख रूपैयाँको ’पृथ्वी प्रज्ञा पुरस्कार’ र तीन हजार अमेरिकी डलर राशीको पुरस्कार ’नेपाल प्रज्ञा लङ्कार’ दुई वर्षअघि नै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र चीनका प्राध्यापक ’वाब हङ्वेई’ लाई प्रदान गरिएको थियो ।

पुरस्कारहरू भदौको अन्तिम साता काठमाडौँमा एक समारोहको आयोजना गरी राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यायले बताउनुभयो ।

टिप्पणीहरू