राजा बन्ने रहर जागेपछि…

राजा बन्ने रहर जागेपछि…

विगतमाझैं तामझाम नगर्दा बेश हुने हो कि हजुर ! भनेर सल्लाह पनि दिइयो ।

हिजो गण्डकी प्रदेश संसदमा नीति तथा कार्यक्रमको प्रस्तुती थियो । प्रदेश प्रमुख अमिक शेरचनलाई नीति तथा कार्यक्रम पेश गर्न जाँदा यसपटक लकडाउनले सर्वत्र सन्नाटा रहेको ब्रिफिङ्ग गरियो । यस्तो अवस्थामा विगतमाझैं तामझाम नगर्दा बेश हुने हो कि हजुर ! भनेर सल्लाह पनि दिइयो । किनकि, जेठ २ गते संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न जाँदा लावालस्करसहित राष्ट्रपतिको सवारी चलाइएकोमा सामाजिक सञ्जालमा चर्को आलोचना भएको कर्मचारीहरूले थाहा पाइसकेका थिए ।

तर के गर्नु, आखिर क्रान्तिकारी कमरेडको पनि मनै हो । विगतमा त्यत्रो त्याग के को लागि गरिएको आशय झल्कने गरी अलिअलि भएपनि तामझाम निकालेर जानुपर्ने आशय देखाएपछि सुरक्षा र प्रशासनिक संयन्त्र तामझामको बन्दोबस्तमा जुटिहाल्यो ।

अपरान्ह लकडाउनको कारण सुनसान सडकमा पनि अगाडि ट्राफिक प्रहरीको मोटरसाईकल चर्को साइरन बजाएर बाटो क्लियर गर्दै गुड्यो । त्यसपछि झण्डा फहराएको प्रमुखको गाडीलाई वीचमा राखेर सुरक्षा निकायका अगुवा र पछुवा गाडीहरू हुँइकिए । सिडियो, सुरक्षा निकाय र अन्य सरकारी गाडीको लस्कर पनि सँगसँगै सभास्थल पुगेको थियो ।

विगतको राजकीय परम्परा र माथिको सिको गर्दै प्रमुख शेरचनले संसदमा १ घण्टा ५० मीनेट बोले । जीब्रो राम्रोसँग फड्कार्न नसकेकाले होला कोरोनाको सन्दर्भमा पटक पटक डिस्इन्फेक्सनलगायत दुई चार वटा शब्दको उच्चारणमा लटरपटर देखियो । त्यसपछि पहिले झैँ तामझामका साथ निवास फर्किए ।

टिप्पणीहरू