माओवादीसँग माधवको दुखेको मन
‘उपेन्द्रलाई लखेटिसके, अब हामीलाई पनि त्यस्तै गर्न खोज्दैछन्’, चुनावको मुखमा मन दुखाउँदै आइपुग्नुभएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पदाधिकारीहरूसँग भन्नुभयो, ‘अब २० को कुरा हैन, १० दिए पनि मानेर जानुपर्ने भयो, नत्र मिलाई–मिलाई सिध्याउने भए !’
यसरी माधव निराश भएर आफ्ना सहकर्मीसँग दुःख पोख्न पुग्नुभएको थियो, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मुखैमा । कारण थियो, माओवादीको पेलान । ‘यो पनि हुँदैन, त्यो पनि हुँदैन’ एकीकृत समाजवादीलाई पनि जसपालाई झैँ गठबन्धनबाट लखेट्ने चालबाजीका कारण माधव हैरान हुनुभएको बताइन्छ । जसपाले पनि धेरै सीट मागेको थिएन । निश्चित जित्ने र आफ्नै जनमत भएकाबाहेक तीन–चार सीट बढीको सम्म दाबी थियो । त्यसलाई हल गर्न सकिने सम्भावना प्रशस्त थियो । तर, नमानी–नमानी गठबन्धन छोडेर एमालेसँग जानुपर्ने बनाइयो । एकीकृत समाजवादीको हकमा गठबन्धन छोडे पनि जाने ठाउँ थिएन, एक्लै चुनाव लड्नुबाहेक । उक्त पार्टीका नेताहरू प्रत्यक्षमा एक्लै जाँदा २–४ सीट जितिन्छ र समानुपातिकमा थ्रेसहोल्ड कटाएर केही मतबाट अरु पनि सांसद पाइन्छ भन्नेमा पुगिसकेका थिए । तर, अन्तिममा माधवले शेरबहादुर देउवासँग कुरा मिलाइसकेपछि भन्नुभयो, ‘गठबन्धन नछोडौँ, देउवासँग मेरो फाइनल कुरा भएको छ ।’
माओवादीसँग पार्टी एकता गर्ने भनी एकीकृत समाजवादीले ‘एकता समन्वय समिति’ पनि बनायो । तर, एकताको कुराबाट अन्तिम समयमा आएर माओवादी पछाडि हट्यो । वार्तामा असोजभित्र टुंगो लगाउने भन्दा उनीहरूले ‘हामीसँग यति भोट, तपाईंहरूसँग त्यति भोट’ भन्न थाले । यसपछि तत्काल एकता नगर्नेमा समाजवादीका नेताहरू पुगे । नभन्दै, चुनावको नतिजाले माओवादीको त्यो दम्भलाई पनि ‘ठाउँमा’ पु¥याएको एसका नेताहरूको दाबी छ । नत्र, गठबन्धनमा २५ सीट पाइसकेको एकीकृत समाजवादीलाई माओवादीले नै हो, २० मा झारेको । कांग्रेस र माओवादी मिलेर गएपछि दोस्रो ठूलो पार्टी हुन्छु भन्ने परेको रहेछ ।
एकीकृत समाजवादीका समानुपातिक उम्मेदवारहरू जनतामा भिजेका थिएनन् । कोही–कोही त भोट माग्न हिँडे तर सबैजना प्रत्यक्षतर्फ केन्द्रित हुँदा यसबाट समानुपातिकमा क्षति भएको निश्कर्ष छ । त्यसमाथि सम्मानित नेताले सम्मान नै गुमाउने गरी बोलेपछि अप्ठेरो परेको छ । स्थानीय निर्वाचनमा इलामको सूर्योदय नगरपालिकामा गठबन्धनबाट मेयर जितेर लगत्तै जिल्ला समन्वयको चुनावमा आफ्ना जनप्रतिनिधिलाई एमालेसँग मिलाइदिनुभयो । त्यहीँदेखि रुष्ट कांग्रेसलाई यसचोटि आफँैले चुनाव हारेपछि ‘नरपिचाश’ भनिदिनुभयो । चुनाव त हार्नुभयो नै, राष्ट्रपति बन्ने झिनो सम्भावनालाई पनि उहाँ आफैँले समाप्त पार्नुभएको उक्त पार्टीका नेताहरूको ठहर छ ।
टिप्पणीहरू