​​​​​​​सुत्केरी हुनेलाई आमाघरको सुबिस्ता

​​​​​​​सुत्केरी हुनेलाई आमाघरको सुबिस्ता

गैंडाकोट नगरपालिकाको वडा नम्बर ३ र १८ भौगोलिक रुपमा विकट छन् । त्यहाँ सडक पूर्वाधारसमेत व्यवस्थित र भरपर्दो छैन । भनेको बेला सवारी साधन पाईंदैन । त्यहाँका सडकमा वर्षायाममा गाडी चलाउनै सकिँदैन । विकट भेगमा आर्थिक रुपमा विपन्नहरुको नै धेरै बसोबास छ । यहाँका महिलाहरुको सहजताका लागि प्रस्तावित गैंडाकोट नगर अस्पतालमा ‘आमाघर’ बनाइएको छ । 

गर्भवती महिलाहरुलाई समयमै सुरक्षित सुत्केरी सेवाको पहुँचमा ल्याउन बर्थिङ सेन्टरकै छेउमा बनाइएको आमाघर सञ्चालनमा ल्याइएको छ । गैंडाकोट–३ र १८ का सुत्केरी हुने महिलाहरु एकहप्ता अगावैदेखि उक्त आमाघरमा बस्न सक्ने गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालले जानकारी दिए । बच्चा जन्माएपछि पनि स्वास्थ्य सेवा र हेरचाहको आवश्यकता अनुसार सुत्केरीहरु आमाघरमा बस्न सक्ने उनले जनाए । आमाघरको प्रभावकारिता राम्रो देखिएको र यसबाट स्थानीय महिलाहरु लाभान्वित भएको प्रमुख प्रशासकीय अधिकृत बताउँछन् ।

आमाघरमा बस्दा सुत्केरी र कुरुवालाई खाना खर्च भनेर नगरपालिका कार्यालयले दिनको आठ सय रुपैयाँ दिने गरेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख झलक पौडेलले जनाएका छन् । यसले सुत्केरी महिला र एकजना कुरुवालाई दुईछाक खाना, दिउँसोको खाजा र सुत्केरीलाई दुई पटक दूध दिने गरिएको प्रस्तावित गैंडाकोट नगर अस्पतालको सुरक्षित मातृत्व कार्यक्रमकी फोकल पर्सन तुलसी कँडेल बताउँछिन् ।

  

गत साउनदेखि सञ्चालित आमाघरमा हालसम्म १५ जना महिलाले सेवा लिइसकेको रेकर्ड छ । गैंडाकोट–३, ढोडेनीकी १८ वर्षीया प्रमिला पुलामी आमाघरको सेवा लिने पहिलो महिला हुन् । गत साउन १३ गते आएर आमाघरमा चार दिन बसेकी थिइन् । प्रमिलाले बर्थिड्ड सेन्टरमा छोरी जन्माएकी हुन् । आमाघरको सेवा राम्रो लागेको उनको अनुभव छ । 

प्रमिलापछि वडा नम्बर १८ दमारकी भूलमाया आले साउन १८ गते आमाघरमा आएर बसिन् । १८ वर्षीया उनी तीन दिन बसेर बच्चा जन्माएपछि गएकी थिइन् । सुत्केरी हुने बेलामा समयमै अस्पताल पुगेर स्वास्थ्यकर्मीको रेखदेखमा बस्न पाउँदा खुशी लागेको भूलमायाको प्रतिक्रिया छ । गैंडाकोट–१८ दमारकै वर्ष १८ की विनिता राना पनि सुत्केरी हुन साउन १८ गते आमाघरमा आएर २० गतेसम्म बसेकी थिइन् । गत साउनमा छ जना आमाघरमा बसेका थिए । भदौमा एक जना, असोजमा तीन जना र कात्तिकमा पाँच जनाले आमाघरको सेवा लिएको बर्थिङ सेन्टरले जानकारी दिएको छ ।

गैंडाकोटका अन्य वडाबाट समेत गरी प्रसूति सेवा लागि चालु आर्थिक वर्षमा हालसम्म ८३ जना महिला प्रस्तावित नगर अस्पतालमा आएको सिनियर अनमी कँडेलले बताइन् । ‘नर्मल डेलिभरीका लागि आवश्यक सम्पूर्ण सुविधा रहेको र २४ सै घण्टा सेवा प्रदान गर्ने गरिएको छ,’ उनले भनिन् । 

गत बिहीबार पनि गैंडाकोट–१३ का दुईजना महिला त्यहाँ पुगेर प्रसुती भएका छन् । सुत्केरी व्यथा लागेपछि घर पायकको बर्थिङ सेन्टरमा बिहान ३ बजे आइपुगेकी २९ वर्षीया उमा मल्लले एक घण्टापछि बच्चा जन्माएकी थिइन् । पाँच वर्षअघि पहिलो सन्तान पनि आफूले यहीँ जन्माएको उनले बताइन् । ‘स्वास्थ्यकर्मीहरु अनुभवी हुनुहुन्छ, घरको जस्तै पारिवारिक वातावरण छ’, उमाले भनिन्, ‘बच्चा जन्माउन यहाँ ठीक लाग्छ ।’ 

गत बिहीबार बिहान ६ बजे बर्थिङ सेन्टरमा आएर साढे ६ बजेतिर छोरा जन्माएकी विभा परियारले सजिलैसित सुत्केरी भएकोमा खुशी व्यक्त गरिन् । 

गैंडाकोट नगरपालिकाले नगरपालिका भित्रका प्रसूतिगृहमा बच्चा पाउने नगरवासी महिलालाई पाँच हजार रुपैयाँ सुत्केरी स्याहार खर्चसमेत दिने गरेको छ । त्यसमा यातायात खर्च एक हजार रुपैयाँ र नियमित गर्भजाँच गरेवापत आठ सय गरी १८ सय रुपैयाँ पनि थपेर दिने गरिएको नर्सिङ इञ्चार्ज तुलसीले बताइन् । साथमा बच्चालाई दुईवटा टोपी, भोटो, चौबन्दी र आमालाई म्याक्सी हालिएको एउटा न्यानो झोला पनि दिने गरिएको उनले जनाइन् । 

गैंडाकोट नगरपालिकामा योसँगै दुईवटा सरकारी बर्थिङ सेन्टर छन् । नगरपालिका कार्यालय पछाडि रहेको स्वास्थ्यचौकीमा गत साउनदेखि सञ्चालित बर्थिङ सेन्टरमा हालसम्म ३३ जनाले सुत्केरी सेवा लिएको नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत नर्सिङ फोकल पर्सन सिनियर अनमी सीता शर्माले जानकारी दिइन् । 

प्रस्तावित नगर अस्पतालको प्रसूति गृहमा कार्यरत पाँचजना स्वास्थ्यकर्मीमा सिनियर अनमी तुलसी र अनमी सरस्वती शर्मामात्रै स्थायी दरबन्दीका हुन् । त्यसो त सिंगो नगर अस्पतालमै जम्मा छ जनामात्रै दरबन्दीका कर्मचारी रहेको अस्पताल प्रमुख पुष्पराज श्रेष्ठ बताउँछन् । नगर अस्पताल भनिए पनि अहिलेसम्म पिँतौजीघाट स्वास्थ्यचौकीकै हैसियतमा कामकाज भइरहेको, नगर अस्पतालका लागि आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन भइनसकेको उनले बताए । प्रस्ताव स्वीकृत भए ३० जनाको दरबन्दी हो तर आधारभूत गैंडाकोट नगर अस्पतालका लागि बल्ल भवन निर्माण हुँदैछ ।

​​​​​​पिँतौजीघाट स्वास्थ्यचौकीमा अहिले भिडियो एक्सरे, एक्सरे, इसिजी, प्रयोगशाला, फार्मेसी, चौबीसै घण्टा इमर्जेन्सी र अन्तरंग सेवा उपलब्ध छ । स्वास्थ्य बीमा कार्यक्रमसमेत लागु गरिएको छ । पहिलेभन्दा सेवास्तर र बिरामीको चाप बढे पनि स्रोत–साधनको अभावमा काम गर्न कठिनाइ भइरहेको अस्पताल प्रमुख श्रेष्ठको भनाइ छ । ‘५/७ जना त डाक्टर नै चाहिन्छ, अहिले जम्मा तीनजना छौं’, उनले भने, ‘अहिले तत्कालको आवश्यकता भनेको अत्याधुनिक भिडियो एक्सरे मेसिन हामीलाई चाहिएको छ । एक्सरेमा पनि फुलटाइमर रेडियोलोजिस्टको आवश्यकता छ । ल्याबमा बिएमएलटी चाहिन्छ, हामीसँग पीसीएल हुनुहुन्छ ।’ रेडियोग्राफर कम्तीमा २/३ जना थप चाहिएको छ’ उनले थपे, ‘नगर अस्पतालको प्रस्ताव पारित भएपछि थप व्यवस्था होला तर १५ शैयाको अस्पताल चलाउन कम्तीमा ६० जनाको दरबन्दी आवश्यक पर्छ ।’ 

टिप्पणीहरू