अढाइ दशकदेखि सडकको मध्यभागमा एम्बुसरुपी ‘पोल’

अढाइ दशकदेखि सडकको मध्यभागमा एम्बुसरुपी ‘पोल’

धरान उपमहानगरपालिकाको एउटा सडकको मध्य भागमा बिजुलीको खम्बा ठडिएको छ । स्थानीय वडा नम्बर १६ लेखनाथ चोकस्थित जनपथ सडकको बीचमा ठडिएको हाइटेन्सन लाइनको विद्युतीय पोलले स्थानीय र सवारी साधनको निम्ति एम्बुस थापेझैँ भएको छ ।

झण्डै २५ वर्ष अघिदेखि ठडिएको उक्त पोलको कारणले नै अहिले पनि दिन बिराएर दुर्घटना हुने गरेको स्थानीय बताउँछन् । उक्त सडकको चौबाटोलाई लेखनाथ चोक भनिन्छ । स्थानीयका अनुसार २५ वर्ष अघिदेखि उक्त पोल उक्त स्थानमा ठडिएको छ । २०५८ सालदेखि कवि शिरोमणि लेखनाथ पौडेलको शालिकसमेत सोही स्थानमा छ । शालिक राख्नुभन्दा अगाडिदेखि नै उक्त पोल रहेको स्थानीय राम श्रेष्ठले जनआस्थालाई बताए । श्रेष्ठका अनुसार आफूले सानैदेखि त्यहिँ देखेको सडकबीचको पोलले दुर्घटना गराउने सम्भावना बढेको हो ।

पहिले सवारी साधनको चाप कम हुँदा पनि त्यहाँ सवारी दुर्घटना भएको स्थानीय बताउँछन् । अहिले सवारी साधनको चाप बढेपछि झनै दुर्घटना भइरहेको श्रेष्ठको भनाइ छ । पछिल्ला दिनमा सवारी साधनलाई गुड्न र पैदल यात्रीलाई सडक पार गर्न गाह्रो हुँदा पनि स्थानीय निकायको ध्यान नगएकोमा स्थानीयको गुनासो छ ।

५६ वर्षीय मनबहादुर श्रेष्ठले पनि सडक पार गर्न मुश्किल पर्न थालेको उल्लेख गर्दै भने, ‘उताबाट बाइक र गाडीहरू हुइँकिएर आउँछन् । बीचमा रहेको पोल छल्न खोज्दा हामीलाई हान्ला भन्ने डर सँधै हुने गरेको छ ।’ उक्त स्थानमा सडक पार गर्न लाग्दा केही समयअघि एक जनाको ज्यान गएको थियो । मनबहादुरका अनुसार वडा नम्बर १ का एक वृद्धको गाडीको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको हो । उनका अनुसार उक्र दुर्घटनाको कारण बिजुलीको सोही खम्बा थियो ।

सोही वडाका वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले उक्त विषयमा बोल्दा र गुनासो सुनाउँदा सुनाउँदै थाकेको प्रतिक्रिया दिए । आफूले जनप्रतिनिधि हुनुभन्दा पहिले निवर्तमान नगरप्रमुख, वडाध्यक्ष साथै विद्युत प्रधिकरणका कर्मचारीलाई पटक पटक उक्त स्थानको संवेदनशीलताबारे बताएको जानकारी गराए । तर सबैले झारा टारेको भट्टराइको अनुभव छ । धरान उपमहानगरपालिका प्रमुख हर्कराज राईले आफू व्यस्त रहेको बताउँदै भने, ‘धेरै कुरा गर्न समय छैन । सम्बन्धित निकायसँग सल्लाह गरेर समधान निकाल्नेतर्फ लाग्ने छु ।’

नेपाल विद्युत प्रधिकरण धरान शाखाका अधिकृत महेश दहालले उक्त बिजुलीको पोलको समस्या समाधान गर्न खोजिएको धारणा राखे । तर प्राविधिक, आर्थिक र लिखतजस्ता विषयले समाधानमा भाँजो हालेको उनको भनाइ छ । हाइ भाेल्टेज लाइनको सम्बन्धमा सबै पक्षलाई विचार गर्नुपर्ने उनले बताए । 

अर्कोतर्फ पर्याप्त बजेटको अभाव र नजिकैका जग्गाधनीहरुले मौखिक रुपमा जग्गा उपलब्ध गराउने वचन दिए पनि कागजी रुपमा प्रदान गर्न अनकनाएपछि थप समस्या देखिएको प्राधिकरणको दाबी छ ।
 

टिप्पणीहरू