काठमाडौं सिडिओ कार्यालयमा रविको नागरिकतावारे तानातान

काठमाडौं सिडिओ कार्यालयमा रविको नागरिकतावारे तानातान

नेपाली नागरिकता कायम गरिपाउँ भनी काठमाडौं जिल्ला प्रशासन कार्यालय पुगेका रवि लामिछाने र काठमाडौंका सिडिओ घनश्याम उपाध्याय आफ्नो अडानमै छन् । साढे १२ बजे समर्थकसहित त्यहाँ पुगेका रविले सिडिओ उपाध्यायलाई तत्काल नागरिकता उपलब्ध गराउन दबाब दिएपछि कार्यालयभित्रको अवस्था तनावपूर्ण भएको त्यहाँका कर्मचारीले बताएका छन् । 

‘लामिछानेजीले निवेदन दिनासाथ नागरिकता पाइहाल्नुपर्ने अडान लिएका छन् । सिडिओ साबले विवादित विषय भएकाले गृह प्रशासन, प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालयसँग राय लिएपछि मात्रै नागरिकता दिन सकिने अडान लिएपछि उनी रिसाएका छन् । लामिछानेले जसरी पनि तु. नागरिकता चाहियो भनेका छन्,’ ती कर्मचारीले भने । 

लामिछानेले आजै नागरिकता लिएर साँझसम्म गृहमन्त्री दाबी गर्ने योजना बनाएको राष्ट्रिय स्वतन्त्र पार्टी निकटस्थहरुको बुझाइ छ । संविधानमा छ महिनासम्म गैरसांसद पनि मन्त्री हुनसक्ने व्यवस्था रहेकाले सोही प्रावधानअन्तर्गत आजै साँझ मन्त्री हुनुपर्ने अडानमा रवि भएकाले पनि नागरिकता तत्काल पाउनुपर्ने भन्दै सिडिओ कार्यालयमा दबाब दिएको बताइन्छ ।

अवस्थालाई ध्यानमा राखेर प्रहरीले काठमाडौं सिडिओ कार्यालयको हातामा सुरक्षाकर्मीको संख्या बढाएको छ । दुबै पक्ष आफ्नो अडानमा रहेकाले सुरक्षा अवस्थालाई दह्रो बनाउनुपरेको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू