प्रधानमन्त्रीसँग डिनर मिटिङपछि भारतीय टोली दिल्ली फर्क्यो
भारतीय जीएमआर ग्रुपका अध्यक्ष नेतृत्वको टोली स्वदेश फिर्ता भएको छ । हिजो दिउँसो पौने ३ बजे काठमाडौं आएको अध्यक्ष निभास बोम्मिडालाल नेतृत्वको टोली आज बिहान पौने १० बजे नयाँ दिल्ली फर्केको हो ।
सात जनाको टोली हिजो इण्डिगो एअरको उडानबाट आएको थियो । आज बिहान एअर इण्डियाको उडान नम्बर एआई २१४ बाट टोली फर्केको जनाइएको छ । जीएमआर ग्रुपका अध्यक्ष बोम्मिडालाले हिजो राति बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका थिए । प्रधानमन्त्री दाहाल र निभासबीच हिजो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा डिनर मिटिङ भएको स्रोतको दाबी छ ।
जीएमआरका अध्यक्षसँगै माथिल्लो कर्णाली जलविद्युत परियोजनाका प्रमुख कुलमित कुल्तार पनि बालुवाटार पुगेका थिए । जीएमआर भारतको राजधानी नयाँ दिल्लीस्थित बहुराष्ट्रिय कम्पनी हो । सन् १९७८ मा स्थापना भएको यो कम्पनीले विदेशका भौतिक पूर्वाधार, ऊर्जा, विमानस्थल र अन्य व्यवसायमा लगानी गर्दै आएको छ । यसका संस्थापक अध्यक्ष ग्रान्धी मल्किार्जुन राओ हुन् । उनैको नाम जीएमबाट कम्पनी स्थापना गरिएको थियो ।
नेपालको माथिल्लो कर्णाली जलविद्युत परियोजनामा पनि जीएमआरको लगानी छ ।
टिप्पणीहरू