दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा सर्वसम्मत, रीता थापामगर अध्यक्ष

दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा सर्वसम्मत, रीता थापामगर अध्यक्ष

 राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा धादिङकी रीता थापामगर सर्वसम्मत निर्वाचित भएकी छन् । 

धादिङबेसीमा भएको प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशनबाट थापामगर सर्वसम्मत अध्यक्ष चुनिएकी हुन् । उक्त क्षेत्रमा एक दशकदेखि सक्रिय थापामगरले यसअघि प्रतिष्ठानको विभिन्न पदमा रहेर काम गरिसकेकी बताइएको छ ।

महाधिवेशनले प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा स्याङ्जाका पशुपति शर्मा र प्रथम उपाध्यक्षमा रामजी खाँड चुनेको छ । सांगठनिक उपाध्यक्षमा सुवास केसी, प्रशासनिक उपाध्यक्षमा दिपक खड्का र महिला उपाध्यक्षमा राधिका हमाल सर्वसम्मत भएका हुन् ।

सात जनाको खुल्ला उपाध्यक्षमा १० जनाको उम्मेदवारी परेको छ । पुष्कल शर्मा, राजु ढकाल, चोलेन्द्र पौडेल, कृष्ण रेउले, खुमन अधिकारी, कुलेन्द्र विश्वकर्मा, पूर्णकला बिसी, शंकर बिसी र तारापती सुवेदीको उम्मेदवारी परेको छ । 

प्रतिष्ठानको महासचिवमा शिव हमाललाई सर्वसम्मत बनाइएको छ । त्यसैगरी उपमहासचिवमा हरि डाँगी (प्रशासनिक) र शिरीष देवकोटा (सांगठनिक), कोषाध्यक्षमा अमृत अधिकारी सर्वसम्मत निर्वाचित भएको जानकारी दिइएको छ । महिला सचिवमा जमुना राना सबैको रोजाईमा परेकी छन् ।

सातवटा प्रदेशमध्ये भूगोल सचिवमा गण्डकी प्रदेश बाहेक सबै प्रदेशमा सर्वसम्मत भएको छ । गण्डकी प्रदेशमा तीन जनाको उम्मेदवारी परेको छ । तीन जनाको खुल्ला सचिव पदमा पनि पाँच जना र दुई जनाको सहकोषाध्यक्ष (खुल्ला) पदमा तीन जनाको उम्मेदवारी परेको छ ।

नेतृत्व चयनमा केही दिन अघिदेखि नै सर्वसम्मतको प्रयास भएको बताइन्छ । खुल्ला उपाध्यक्ष, भूगोल सचिवतर्फ गण्डकी प्रदेश, खुल्ला सचिव, खुल्ला सहकोषाध्यक्ष पदबाहेक पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएका छन् । महाधिवेशनबाट ३५ जनाको पदाधिकारीसहित ७५ सदस्यीय कार्यसमिति चयन हुने व्यवस्था छ ।

टिप्पणीहरू