रातिराति सुन र हीरा गन्दै चितवन प्रहरी

हिजो राति भारतीय गाडीमा तस्करी भइरहेको सुन र हीराका जुहारत नियन्त्रणमा लिन चितवन प्रहरी सफल भएको छ । चितवनको बाटो हुँदै भारतीय नम्बरको कारमा बहुमूल्य गरगहनाको तस्करी भइरहेको सुइँको चितवन प्रहरीले पाएको थियो । निरीक्षक सुवास भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले डब्लुबि १२ एभी ५५६६ नम्बरको भारतीय नं. को नेक्सन कम्पनीको कारलाई राति करिब १ बजेको समयमा भरतपुरको गोन्द्राङस्थित पूर्व–पश्चिम लोकमार्गमा च्याप पारेको हो । 

प्रहरीले कारमा सवार चालकसमेत तीन जनालाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा ड्राइभर बस्ने सिटको पडाडिको प्यासेन्जर सिटमुनि र गियर बक्स अनि एयर फिल्टरभित्र लुकाइछिपाइ ल्याएको अवस्थामा सुन र हीराका सिक्री, हार, लकेट, औंठी, चुरा, झुम्का, बाला, ब्रास्लेट, चोकरलगायत विभिन्न किसिमका पत्थरहरुसमेत फेला परेको छ । पक्राउ परेका तीनैजना भारतीय नागरिक हुन् । 

भारतको उत्तरप्रदेश राज्य, बलिया जिल्ला फेफना थाना बस्ने ४२ वर्षीय विनोद प्रसाद, पश्चिम बंगाल राज्य हौडा जिल्ला गोलावाडी पुलिस थाना सल्किया स्कूलरोड कलकत्ता बस्ने ५१ वर्षीय गणपत कुमार तोसावर र ४२ वर्षीय नरेश बर्मालाई तस्करीको गरगहना र गाडीसहित गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । तस्करीको सुन र हीरा समाउन एसपी रामेश्वर कार्की स्वयं रातभर खटिएका थिए । 

परिमाण नापतौल गर्दा सुनको चोकर १२ थान (१५.५५५ तोला), सुनको सिक्री (पाइप) पाँचथान (५.१७५ तोला), सुनमा हीराजडित औंठी दुईथान (०.६४३ तोला), सुनको बक्स औंठी आठवटा (१.९९७ तोला), सुनको मिनी हार पाँचथान (३.८५८ तोला), सुनको टोपा औंठी दुईथान (१.५३७ तोला), सुनको लकेट चारवटा (१.२९४ तोला), सुनको झुम्का ३१ जोर (१२.७७२ तोला),  सुनको चप्रा नभरेको चुरा ६ गोटा (५.७५७ तोला), सुनको चप्रा र लाहा भरेको चुरा चारथान (९.१६५ तोला), सुनको कल्लीबाला मिनासहित चारथान (६.१४५ तोला) फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

यसैगरी, बहुमूल्य हीराको हार सातथान (१०.३८८ तोला), हीराको ब्रास्लेट एउटा (१.३७० तोला), हीराको बाला एकथान (०.६४७ तोला), हीराको औंठी चारवटा (२.२२१ तोला), हीराको लकेट दुईवटा (१.४१८ तोला), हीराको झुम्का १० थान (४.७०० तोला), हीराको टप १२ थान (२.१०४ तोला) बरामद भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । 

हीराका सबै आभूषण ट्यागसहित नै पाइएको र सँगै विभिन्न किसिमका ३६ थान पत्थरहरु पनि फेला परेको प्रहरीले बताएको छ । ती हीरा–जवाहिरातहरुको मूल्य सबै गरेर रु. एक करोड १० लाख अनुमान गरिएको छ ।

प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार ती बहुमूल्य गरगहना भारतको कलकत्ताबाट अवैध रुपमा नेपाल ल्याएको बुझिएको छ । भन्सार छलेर भित्र्याइएका ती ज्वेलर्स मध्यरातको समय पारेर काठमाडौं लैजान लागिएको थियो । राजस्व छली गरेर अवैध रुपमा ल्याएको हुनाले यस सम्बन्धमा थप कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पुलचोकमा पठाइसकिएको छ ।

टिप्पणीहरू