सम्पत्ति खोसिनेको यस्तो छ सूची

सम्पत्ति खोसिनेको यस्तो छ सूची

अकुत आर्जन गर्ने र श्रीसम्पत्ति ससुरालीतिरका नाममा लुकाउने एकपछि अर्का भ्रष्ट कर्मचारीको सम्पत्ति राज्यले जफत गर्ने कामले तीव्रता पाएको छ । कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग स्थापना भएको दुई वर्षमा करोडौं अवैध सम्पत्ति जफत गरी राज्यमातहत ल्याइएको छ । सम्पत्ति जफत भएकाहरूमा वीरगञ्ज भन्सारका नासु केदारनाथ ढुंगाना, आन्तरिक राजश्वका नासु उमेशकुमार रेग्मीदेखि जल उत्पन्न प्रकोप नियन्त्रण विभागका डिजी अजितकुमार मिश्र, आन्तरिक राजश्व विभागका डिजी मुरारी कार्की र भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव आनन्दप्रसाद खनालसम्म छन् । 

कसूरजन्य सम्पत्ति व्यवस्था विभागका अनुसार अकुत आर्जनमा डामिएका र भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सडक विभागका पूर्वमहानिर्देशक आनन्दप्रसाद खनालको भक्तपुरस्थित ६५ आना जग्गा सरकारले जफत गरिसकेको छ । खनालले गैरकानुनी तवरले आर्जन गरेको सम्पत्ति श्रीमती पद्मा, छोराहरू अनिल, अमित र आभाष खनालको नाममा रहेको जग्गा तथा नगद सम्पत्तिलाई सरकारीकरण गर्ने कामको सुरुआत भएको हो ।

भक्तपुरको साविक कटुञ्जे गाविस वडा नम्बर २ (क) को कुल १७ कित्ताको ४ रोपनी १ आना ३ पैसा जग्गा कसूरजन्य सम्पत्ति व्यवस्थापन विभागको नाममा लालपुर्जा कायम गरिएको विभागले जनाएको छ । यो जग्गाको हालको बजारमूल्य १६ करोड रूपैयाँभन्दा बढी रहेको जनाइएको छ । यस्तै, नासु उमेशकुमार रेग्मी पदमा रहँदा आर्जित अकुत सम्पत्ति जफतको काम अगाडि बढेको छ ।

आन्तरिक राजश्व कार्यालय क्षेत्र नम्बर १, बबरमहलमा नायब सुब्बा पदमा कार्यरत रहँदा आर्जित अकुत रकम श्रीमती सञ्जना, सासू उषादेवी काफ्ले, जेठीसासू सुशीलाकुमारी काफ्ले, सिर्जना काफ्ले (रेग्मी) र सालो सुधीरकुमार काफ्लेलगायत आफन्तका नाममा राखिएको भेटिएपछि त्यसलाई जफत गर्ने काम टुंगोमा पुग्दै छ । अहिले कामनपा ९ को कित्ता नम्बर ६३ को १ लाख ६२ हजार ५ सय रूपैयाँ पर्ने ६ आना २ दाम जग्गा, सोही जग्गामा बनेको १८ लाख रूपैयाँको घरदेखि त्यहाँको चल अचल जफतको काम अगाडि बढेको छ ।

यस्तै यस्तै पूर्वकर्मचारी मुरारीबहादुर कार्कीको सिनामंगलस्थित १० आना जग्गा र त्यसमा बनेको घर पनि जफत प्रक्रिया अगाडि बढेको विभागले जनाएको छ । भारतीय नागरिक निरञ्जन होजाइले नेपालमा निर्मल राईको नामबाट नक्कली नागरिकता बनाई अवैध सम्पत्ति जोडेको भेटिएपछि उक्त सम्पत्ति सरकारीकरण गर्ने काम अगाडि बढेको छ । उनले नेपालमा झुटो परिचय बनाई ४१५९३९४ नम्बरको नागरिकता प्रमाणपत्र मात्र लिएनन्, सिन्धुपाल्चोकमा सामान्य मजदुरी गर्ने रामचन्द्र र सेती गिरीकी छोरी सरितासँग उनले २०६५ मंसिरमा विवाह गरे ।

विभागले सर्वोच्चबाट फैसला भएको सात वर्षपछि उनीहरूको नाममा रहेको कुल २ करोड २७ लाख ९७ हजार ३८२ रूपैयाँ कोषको नाममा स्थानान्तरण गरेको विभागले जनाएको छ ।
 

टिप्पणीहरू