बैंकको ज्यादती रोक्न माग गर्दै सडकमा व्यवसायी

बैंक तथा वित्तिय संस्थाको चर्को ब्याजदरको विरोधमा उद्योग व्यवसायीले पुनः सडक आन्दोलन थालेका छन् । बैंकहरुको आतंक बन्द गर्न माग गर्दै देशभरका उद्योगीले राजधानीको माइतीघर मण्डलामा आन्दोलन गरेका हुन् । 

सरकारले आफूहरुको माग सम्बोधन गर्न चासो नदेखाएपछि पटकपटक सडकमा उत्रिनुपरेको उनीहरुको गुनासो छ । ‘बैंक तथा वित्तिय समस्या समाधानार्थ विरोध कार्यक्रम’ लेखिएको ब्यानर सडकमा बिच्छाएर गरिएको आन्दोलनमा झण्डै पाँच दर्जनको उपस्थिति रहेको छ । 

आन्दोलनकारीहरुले ‘उच्च सेवाशुल्क बन्द गर’,‘प्रिमियम दरवृद्धि नियन्त्रण गर’,‘बैकिङ्ग आतंक बन्द गर’,‘ब्याजदर हामीलाई चर्को भो गरिखान गाह्रो भो’,‘बैंक हामीलाई प्यारो छ ! ब्याजवृद्धिले हामीलाई गाह्रो भो’,‘मौद्रिक नीति परिमार्जन गर’, लगायतका नारा लगाएका छन् । 

बैंकको ब्याज घटाउन माग गर्दै व्यवसायीहरुले गत माघ १६ गते पनि आन्दोलन गरेका थिए । तरपनि सरकारको ध्यान नगएपछि उनीहरु फेरि सडकमा उत्रिएका हुन् । नेपाल राष्ट्र बैंकले अझैपनि चासो नदेखाउने हो भने अवस्था थप विकराल बन्ने व्यवसायीहरु बताउँछन् ।
 

टिप्पणीहरू