उपराष्ट्रपतिमा दर्ता भएका सबैको उम्मेदवारी कायम

उपराष्ट्रपतिमा दर्ता भएका सबैको उम्मेदवारी कायम

उपराष्ट्रपतिको निर्वाचनका लागि हिजो दर्ता भएका चारै जनाको उम्मेदवारी कायम भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि गठित निर्वाचन अधिकृतको कार्यालयले दावी विरोधउपर जाँचबुझपछि सबै उम्मेदवारको नाम प्रकाशन गरेको हो । 

उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव, प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झाको उम्मेदवारी परेको छ । त्यस्तै, एमालेबाट अष्टलक्ष्मी शाक्यले मनोनयन दर्ता गराएकी छन् । निर्वाचन अधिकृतको कार्यालयले भर्खरै प्रकाशन गरेको उम्मेदवारको नामावलीमा उनीहरु सबैको नाम रहेको छ ।

यसअघि आज बिहानसम्मको समय दिएर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारविरुद्ध उजुरी आह्वान गरेको थियो । उक्त समयमा रामसहायप्रसादविरुद्ध उजुरी परेको थियो भने कार्यालयले जाँचबुझमा बोलाउँदा उनले त्यसको खण्डनमा सवुत प्रमाण पेश गरेपछि उम्मेदवारी कायम रहेको हो । 

आज अपराह्न चार बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ भने पाँच बजे अन्तिम नामावली प्रकाशन हुँदैछ । 

यता, आधिकारिक उम्मेदवार टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ । दुई जनाको उम्मेदवारी फिर्ता गराएर रामसहायलाई आधिकारिक उम्मेदवार बनाउने तयारी रहेको बताइएको छ । 

बारा-२ बाट निर्वाचित रामसहायलाई उपराष्ट्रपति जिताएर उक्त क्षेत्रमा हुने उपचुनावमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई अघि सार्ने गठबन्धनमा सहमति छ ।


 

टिप्पणीहरू