भारतीय कर्णेल विमानस्थलबाट पक्राउ

भारतीय कर्णेल विमानस्थलबाट पक्राउ

कुख्यात सिरियल किलर चाल्र्स शोभराजले भनेजस्तो नेपालको विमानस्थलबाट हात्ती छिराउने अवस्था अब रहेन । यसैले त भारतीय सेनाका एक जना कर्णेल यही ठाउँबाट पक्राउ परेका छन् । 

बारुद वा बिष्फोटक पदार्थ प्रयोग नगरी साइकलको स्प्रिङ गोटीजस्तो हालेर पड्काउन मिल्ने एयरगन (पेस्तोल) बोकेका जल सेना (नेभी) का ती कर्णेललाई एक रात गौशालास्थित प्रहरी बृत्तमा थुनियो । भोलिपल्ट कुनै अफिसियल रेकर्ड नराखी खुसुक्क छाडिएको छ । नाम हो, चन्द्रशेखर सिंह । उनी जलसेनाका प्रमुख सेनानी हुन् ।

केही दिन नेपाल घुमघाम गरी इण्डिगो एयरको उडान नं. ६–इ–०३४ बाट आइतवार फर्किने क्रममा हतियारसहित समातिए । अध्यागमन कटेपछि अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर हलतर्फको हाते झोला चेकिङ हलमा आइतबार अपराह्न साढे तीन बजे शंका लागेर प्रहरीले पक्राउ गरेकोमा साँझ सवा ५ बजे गौशाला प्रहरी बृत्तमा थप अनुसन्धानका लागि एक रात थुनेर भारतीय दूतावासको विशेष अग्रसरतामा गुपचुप हिरासतबाट सोमबार मुक्त गरिएको छ ।

उनले किन नेपालको सुरक्षा प्रणालीलाई चुनौती दिँदै खुलेआम हतियार बोकेर नेपाल आए ? लुकाएर वा भाँँचभुँच गरेर पनि लगेजमा राख्न सक्थे । तर, हातेझोलामा देखादेखी किन बोके ? यस्ता प्रश्न अनुत्तरित नै रहे । प्रहरीले समयमै उक्त हतियार बरामद नगरेको थियो भने नेपालको सुरक्षा तथा अनुसन्धान प्रणालीको राम्रै धज्जी उड्ने एउटा खतरा भने टरेको छ । 
 

टिप्पणीहरू