यसकारण ललितपुरमा एक्लो घोडा दौडाइयो

यसकारण ललितपुरमा एक्लो घोडा दौडाइयो File Photo

ललितपुरमा आज एक्लो घोडा दौडाएर घोडेजात्रा पर्व मनाइएको छ । घोडेजात्राको अवसरमा प्रत्येक वर्ष पाटनमा एउटा घोडा दौडाएर छुट्टै जात्रा मनाउने प्रचलन रहिआएको छ । 

हरेक वर्ष चैत कृष्णपक्ष औंसीका दिन मनाइने यो पर्व ललितपुरको महत्वपूर्ण मध्येको एक जात्रा मानिन्छ । पाटन मंगलबजारस्थित चिबहाल टोलस्थित भीमसेन गुठी च्योखलःका स्थानीय गुठियारहरुले परापूर्वकालदेखि मनाउने यो जात्रा मल्लकालीन राजा शिवसिंह मल्लको पालादेखि थालिएकोे विश्वास छ ।

घोडेजात्राको दिन गुठियारहरुले भीमसेन मन्दिरको देवताको शीरमा चाँदीको किकिंपा राखी भीमसेनको पूजा गर्छन् । गुठी संस्थानको अनुरोधमा सिंहदरबार क्याभ्लरीबाट एउटा घोडा पाटन दरबार क्षेत्रको मूल चोकमा ल्याई गुठियारको जिम्मा लगाइन्छ । त्यसपछि भीमसेना गुठीका सम्पूर्ण गुठियारले विधिपूर्वक पूजा गरेपछि आजुहरूले चुनेका गुठियारमध्ये एक जनालाई घोडा चढाइन्छ । घोडा चढ्नेलाई सम्मानस्वरूप भीमसेनस्थानबाट ल्याइएको फूलमाला पहिर्याइ पूजा गरिन्छ । सोही स्थानबाट एकल घोडेजात्रा शुरु हुने मौलिक परम्परा छ । 

त्यसपछि घोडालाई चिबहालबाट वकुम्बहाल, न्यौट, लोहल हुँदै भोलगणेश टोलसम्म पुर्याइन्छ । त्यहाँबाट बालकुमारी मन्दिरसम्म घोडालाई दौडाइन्छ । बालकुमारी र भोलगणेश मन्दिरलाई तीन पटक परिक्रमा गरेपछि अन्त्यमा बालकुमारी मन्दिर छेउको पाटीमा बसेर घोडचढी गुठियारलाई गुठी संस्थानका प्रमुखले सुपारी र दक्षिणा दिई बिदा गर्छन् । सोही बिदाईपछि एकल घोडेजात्रा सम्पन्न भएको मानिन्छ । 

चैत शुक्लपक्ष चतुर्दशीदेखि पाँच दिनसम्म चल्ने यो जात्राको धार्मिक तथा संस्कृतिक महत्व रहिआएको छ । जात्राका क्रममा भीमसेनको पूजाआजा, भजन, स्तोत्रगान गर्नुका साथै भोज गरेर उत्सवका रुपमा मनाउने गरिएको छ ।  

यो जात्राका बारेमा अनौठो किंवदन्ती पनि छ । पाटन दरबार क्षेत्रसँग जोडिएको ऐतिहासिक बल्खु चिबहाल टोलस्थित भीमसेन गुठीका गुठियारहरु त्यतिबेला मल्लकालीन दरबारमा घोडा र तबेलाको हेरचाह गर्थे । घोडा तयार गरेर राजालाई घोडा सवारको व्यवस्था मिलाउने काम गुठियारहरुले पालैपालो गर्थे । 

एकदिन मल्ल राजा घोड सवारमा जान ढिलो भइसक्दा पनि घोडा तयार नभएपछि उनी तबेलामा गए । जहाँ सयस मस्त सतेको र उनलाई पञ्चशीर भएको नागले ओत दिइरहेको अद्भुत दृश्य देखेपछि राजा छक्क परे । त्यसपछि राजालाई लाग्यो, सयस सामान्य व्यक्ति होइन, अलौकिक शक्तिप्राप्त असाधारण व्यक्ति हुन् । सोही समयदेखि राजाको प्रतिनिधि पात्रको रुपमा घोडामा सवार गराई खड्ग र राजकीय सम्मानका साथ जात्राको थालनी गरिएकोे धार्मिक किंवदन्ती छ । अहिले भीमसेन गुठीका गुठियार तीनै सयसका सन्तान मानिन्छन् ।

तर यो जात्रा किन र कुन प्रयोजनको निम्ति गरिएको थियो भन्नेबारे थप अध्ययन र खोजको विषय रहेको गुठी च्योखलः व्यवस्थापन समितिका अध्यक्ष शंकर महर्जनले बताए ।

टिप्पणीहरू