टिंकर सडकमा थपिएन बजेट, घर फर्किए कामदार

टिंकर सडकमा थपिएन बजेट, घर फर्किए कामदार

अतिक्रमित नेपाली भूभाग कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्र नजिकका छाङरु र टिंकर गाउँ भएर चीनको सिमानासम्म जोडिने दार्चुला–टिंकर सडक निर्माण दुई महिनादेखि ठप्प छ । सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइए पनि बजेट अभावले निर्माण बन्द भएको हो । 

चालु वर्ष टिंकर सडक निर्माणका लागि सरकारले ९ करोड ५१ लाख रूपैयाँ बजेट सेनालाई उपलब्ध गराएकोमा पुस मसान्तमै अधिकांश बजेट सकिएको छ । प्रशासनिक र राजनीतिकस्तरबाट पहल भए पनि अहिलेसम्म थपिएको छैन । 

सेनाले टिंकर सडक निर्माणका लागि यो वर्ष २५ करोड रूपैयाँ माग गरेको थियो । तर, सरकारले साढे नौ करोड रूपैयाँ मात्रै विनियोजन गरेको छ । विनियोजित बजेटबाट यो वर्ष २ किलोमिटर सडक निर्माणको लक्ष्य राखिएकोमा पुस मसान्तसम्म १६ सय मिटर सडक निर्माण सम्पन्न भइसकेको सेनाले जनाएको छ । 

पर्याप्त बजेट उपलब्ध नभएपछि पुस २६ देखि सडक निर्माणमा संलग्न ३ सयभन्दा बढी कामदार घर फर्किएका छन् । अहिले व्यास गाउँपालिकाको वडा नम्बर ३ तुषारपानी र वडा नम्बर २ दुम्लिङमा सडक निर्माण कार्य भइरहेको प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । यी दुबै स्थानमा सेनाले मेसिन प्रयोग गरी चट्टान फुटाउने कार्य गरिरहेको छ ।

सरकारले तीन वर्षअघि चीन सीमा छुट्याउने १ नम्बर पिल्लरसम्म ७८ किलोमिटर लामो सडक निर्माणको जिम्मा सेनालाई दिइएको छ ।
 

टिप्पणीहरू