गोदावरी : गजेन्द्रको मनपरी घरीघरी

गोदावरी : गजेन्द्रको मनपरी घरीघरी

स्थानीय सरकारले आफ्नै कामका कारण पाएका अनेकन उपमाहरूले संघीयतालाई बदनाम गराउँदै लगेको छ । प्रदेशका कामहरूको परिणाम भन्दै कोशी मुख्यमन्त्री हिक्मत कार्कीलाई ओखलढुंगा प्रवेश गर्दा नारावाजी र ढुंगामुढा भएको छ भने अरु प्रदेश पनि विभिन्न हिसाबले बदनाम हुँदै छन् । स्थानीय तहका त अनेकन कहानी र चर्चा छन् जसले एउटा राजदरवारको अन्त्य भएपछि जन्मिएका टोले दरबार र टोले राजाहरू भन्ने कहावत नै बन्न लागेको छ । संघीय राजधानी काठमाडौं उपत्यकाको नजिकै अर्थात सिंहदरवारको नाकैमुनिका स्थानीय तहहरूको ज्यादती झन् अजीवको छ ।

विगतमा ढुंगा गिट्टीको कारण स्थानीय विकास अधिकारी र प्रमुख जिल्ला अधिकारीहरू सरुवा हुनेदेखि वर्षमै कमसेकम दुई चार गम्भीर खालका घटना हुने गरेको क्षेत्र गोदावरीमा अहिले व्यापारीहरूसंगको मिलेमतोमा नगरपालिकामा रजगज देखिएको छ । गोदावरी नगरपालिकाको दोश्रो कार्यकालका लागि मेयर जितेका गजेन्द्र महर्जनको रवाफले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीदेखि स्थानीयसम्मको टाउको दुखाइ भएको छ । प्रमुख प्रशासकीय अधिकृतको सरुवा अस्वीकार गर्दै मन्त्रालयले पठाएकोलाई हाजिर नगराएर प्रवीण कोइरालालाई नै राख्ने अडान लिएकाले सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको टाउको दुखाइ बनेको छ । 

नगरपालिकाभित्र अहिले सम्पूर्ण करका दररेट ५ गुणासम्म वृद्धि भएका छन् । सर्वसाधारण नागरिकलाई आवश्यक सेवामा अनिवार्य गरिएका करका दर ठूला व्यवसायीका हकमा भने लागू भएका छैनन् । सबैभन्दा धेरै गोदावरी नगरपालिकामा जग्गाको कारोबार गर्ने र प्लटिङ व्यवसायी छन् । उनीहरूले ठुल्ठूला प्लटिङ वडाध्यक्ष र मेयरसँगको समन्वयमा गरिरहे पनि व्यावसायिक हिसाबले अनुमति नलिई व्यक्तिगत हिसाबले जग्गाधनीको नाममा जग्गा सम्याउने निवेदन संकलन गरेर राजस्व हिनामिना गरिरहेका छन् । जग्गा व्यवसायीका हितमा हुने गरी खोला किनार र खुला ठाउँ आसपास गल्छीका सस्तो जग्गाको निम्ति नजिकका खाली सार्वजनिक स्थान मास्ने, मिच्नेजस्ता काम भइरहेको छ । वडा नं १ का धेरै ठाउँमा वडाको बजेटबाट बाटो लगिदिने र वडाध्यक्षसँग मिलेर काम गरिरहेका व्यवसायीको हितमा काम गर्ने प्रवृत्ति देखिएको छ । 

प्लटिङसँगै खोला अतिक्रमण गर्ने व्यवसायीलाई पनि नगरपालिकाले काँध दिएको छ । वडा नं १३ मा भएको पश्मिना उद्योगले कपडा वासिङ र कलर गरेको केमिकलयुक्त पानी कोड्कु खोलामा निरन्तर मिसाउँदै आएको छ भने त्यो अपराधमा गोदावरी नगरपालिकाका मेयर महर्जन र १३ नं का वडाध्यक्ष भाष्कर थापा मौन छन् । पश्मिनाले खोलोलाई करिब आधा किलोमिटर अतिक्रमण पनि गरेको छ । वडा नं ३ का वडाध्यक्ष सानुराजा घिमिरेले त अतिक्रमण रोक्न बोल्ने नैतिक हैसियतसम्म गुमाएका छन् । घिमिरेले आपूmले सञ्चालन गरिरहेको सिरूपाते ट्राउट फार्मको निम्ति करिब ५ सय मिटर एरियामा मापदण्डको जग्गा अतिक्रमण गरेर होटलको संरचना बनाएका छन् । यसरी सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरू आफैं बसेर बनाएका नीति कानुनले आपूmहरू असुरक्षित भएको स्थानीय बताउँछन् ।

गोदावरी नगरपालिकाले चैत २९ गतेदेखि वैशाख ३० गतेसम्म महोत्सव गर्दै छ । नगरपालिकाको वेभ साइटमा मुख्य विज्ञापन गरिएको उक्त महोत्सव आयोजक उद्योग वाणिज्य संघसँग आबद्ध उद्योगीहरू नै गोदावरी नगरपालिकामा व्यवसाय दर्ता नगर्नेहरू भएको नगरपालिकाका एक कर्मचारीले बताए । करको दरमा सर्वसाधारणलाई ५ गुणासम्म बृद्धि गरिएकोमा बोलवालाहरूले आफ्नो व्यवसायलाई दर्तासमेत गराएका छैनन् ।
 

टिप्पणीहरू