जासुसहरु एकै ठाउँमा जम्मा

जासुसहरु एकै ठाउँमा जम्मा

नेपाली सेनाले भारतीय स्थल सेनासँगको संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ सम्पन्न गरेलगत्तै अब नेपालमै विभिन्न मुलुकका सैनिक अधिकृतहरु तालिम लिन आउने भएका छन् । वैशाख ४ गतेदेखि स्टाफ कलेज कोर्षका लागि आवेदन खुल्दैछ । त्यसक्रममा माल्दिभ्स, दक्षिण अफ्रिका, पाकिस्तानलगायतका देशबाट सैनिक अभ्यासका निम्ति आउने पौने दर्जन अफिसरको व्यवस्थापन गर्नुपर्ने भएको छ ।

अर्कातिर, पूर्णचन्द्र थापाको कार्यकालमा पृतनाको विकल्पस्वरुप ल्याइएको कमाण्ड अवधारणाले थुप्रै दुईतारे जर्नेललाई काठमाडौंमा थन्क्यायो । कमाण्ड खारेज भई फेरि पृतनाकै अवधारणामा गएपछि दुई तारेको अभाव देखिँदा कतिपयलाई दोहोरो जिम्मेवारीमा राख्नुपरेको थियो । बढुवा रोकिँदाको उक्त बेथिति अहिले आएर घट्दैछ । उपत्यका पृतनाको जिम्मेवारीमा रहेका सागर थापाले नै निमित्त कार्यरथी पनि सम्हालिरहेका छन् । बढुवाका निम्ति सुदर्शन सिलवालको नाम गएपछि भने पूर्वराजा वीरेन्द्रका एडिसी स्व. ताराबहादुर थापाका छोरा सागरले दुईतिरको बोझबाट मुक्ति पाउँदैछन् । सिलवाल अहिले पोखरा पृतनामा छन् । 

उता, पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रमा जारी अलग्गै तालिममा देशभरका सैन्य गुप्तचर सहभागी छन् । मिशनमा जाने सेनाले गुप्तचरीमा पनि दखल राख्नुपर्ने कारण उक्त तालिम चलाइएको हो । अमेरिकी सरकारको सहयोग रहेको ग्लोबल पिस अपरेशन इनिसिएटिभ (जिपिओआई) द्वारा पाँचखालमा फागुन २९ देखि उक्त तालिम जारी छ । संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनार्थ मिशनअन्तर्गतको उक्त इन्टेलिजेन्स तालिम (युएनएमपिकेआई) मा प्रमुख सेनानीमध्ये चरक बाहिनीबाट लोकेश केसी, जबरजंग गणबाट अरुण कार्की, नीति तथा योजना निर्देशनालयबाट सुवर्ण खड्का, पूर्वी पृतना तालिम शिक्षालयबाट प्रल्हाद थापा, भैरववाहन गुल्मबाट सन्तोष केसी सहभागी छन् ।

सेनानीहरुमा सैनिक विशेष इन्टेलिजेन्स निर्देशनालयबाट अरुण थापा, वीरेन्द्र शान्तिकार्य तालिम केन्द्रबाट सरोजकुमार बस्नेत, सैनिक आवासीय महाविद्यालय, धनगढीबाट प्रवेश दाहाल, नं. १९ बाहिनी अड्डाबाट उषा कार्की, चरक बाहिनीबाट कृष्णकुमार लिम्बू, मकर गणबाट चरक बाहिनीतर्फ काजमा रहेका अमित महर्जन, नयाँ रणभीम गुल्मका अजित थापा, पुष्पक गणका सविन केसी, इन्टेलिजेन्स कोरका दिपेश खड्कासहित सहसेनानीहरुमा रणदल गुल्मका विश्वमणि कार्की, विनायक दल गणका सञ्जय तिमल्सिना, शिक्षालयस्थित इन्टेलिजेन्सबाट राजकुमार थापा, नं. २४ बाहिनीबाट राजन जिसी र इन्टेलिजेन्स महाविद्यालयबाट हेमन्त खड्का सम्मिलित छन् । 

यसैबीच, हिजो अन्तर्राष्ट्रिय लागुऔषध नियन्त्रण टोलीमा संलग्न ११ सदस्यीय अमेरिकी टोली नेपाल आएर त्रिभुवन विमानस्थलको कुना–कुना अवलोकन गरेको छ भने गतसाता आएको अर्को टोलीले सेना र सशस्त्रलाई सीमापार अपराध नियन्त्रणका निम्ति आवश्यक सहयोग दिने बचनबद्धता व्यक्त गरेको बुझिएको छ ।
 

टिप्पणीहरू