कर्मचारीको आइरहने काल

कर्मचारीको आइरहने काल

‘राष्ट्रसेवक’ कि ‘शक्तिसेवक’ ? यसमध्ये एक नरोज्दा कतिपय कर्मचारीले दुःख पाउने नै भए । 

आफूलाई राष्ट्रसेवक सम्झिएर काम गरेका एयरपोर्ट अध्यागमनका हाकिम आधा वर्ष नपुग्दै फिर्ता डाकिए । भरतपुर महानगरमा बसेर ‘शक्तिसेवा’ गरेबापत अर्का हाकिम अन्तर्राष्ट्रिय विमानस्थलमा पठाइए । हटाइएका बासुदेव घिमिरे गृह मन्त्रालयको बरण्डामा पुगेका छन् भने उनको ठाउँमा सरुवा भएका रामबन्धु सुवेदी, भरतपुरमा प्रमपुत्री रेणु दाहालसँग काम गरेबापत झलकराम अधिकारीलाई टिम मिलाउने गरी ११ गते शुक्रबारको निर्णयानुसार पुरस्कृत भएका छन् । 

गृह र सामान्य प्रशासनको ‘बरण्डा’, अर्थात् अतिरिक्त समूहमा रहेका १४ सहसचिव तथा उपसचिवलाई सिडिओ, सहायक सिडिओ बनाउँदै २५ जनाको सरुवा निकाल्दा फेरि पनि कोही कोही ‘बरण्डा’ मा हुत्याइएका छन् । तिनैमध्येका हुन्, वासुदेव । रवि लामिछाने गृहमन्त्री भएको बेला गोरखाको सिडिओ बनाइएका लालबहादुर कवारीलाई त्यहाँ हाजिरै हुन दिइएन । गोरखामा प्रचण्डको सचिवालयमा बसिसकेका दिनेशसागर भुसाल पठाइए । लालबहादुरलाई दुई महिना ‘बरण्डा’ मा राखेर जाजरकोट पठाइयो ।

यसअघि प्रचण्ड गोरखा आउँदा आँबुखैरेनीमा स्वागत गर्न नगएको भन्दै बलदेव गौतमलाई ४२ दिनमै उछिट्याइएको थियो । पर्वतका सिडिओ चित्राँगत बराल १३ किलोमीटर टाढा बाग्लुङको सहायक सिडिओमा पठाइए । गणेश पौडेल बाग्लुङमा सिडिओ थिए, उनी पनि सहायक सिडिओ भएर पर्वत पुगे । ११ गतेको सरुवामा सामान्यबाट गएका ६ जना सहसचिवलाई जिम्मेवारी दिइँदा विभिन्न जिल्लामा कार्यरत उपसचिवहरू तानातानमा परेका छन् । ओखलढुंगा, गुल्मी, अर्घाखाँची, अछाम, डडेल्धुराबाहेक सबै जिल्लामा अब सहसचिव नै सिडिओ भएका छन् । गृहका सहसचिवको पनि हेरफेर हुँदा बालकृष्ण खाँणको पालाका चल्तापुर्जा फणिन्द्रमणि पोखरेललाई कसुरजन्य सम्पत्ति छानवीन कार्यालयमा पठाइएको छ ।

उनले सम्हालेको आन्तरिक व्यवस्थापन महाशाखामा महादेव पन्त पुगेका छन् । काठमाडौंका सिडिओ घनश्याम उपाध्याय असारमा सचिव बढुवाका दावेदार भएको कारण उनलाई चलाइएन । उनी कांग्रेस नेता पूर्णबहादुर खड्का निकट मानिन्छन् ।
 

टिप्पणीहरू