डोजर मात्रै चलाउने ? दुर्व्यसन नघटाउने ?

डोजर मात्रै चलाउने ? दुर्व्यसन नघटाउने ?

स्थानीय तहले पूर्वाधारतर्फ खर्च गरिरहँदा नागरिकलाई गलत बाटोमा लाग्न नदिन सचेतना अपनाउनेतर्फ कसैको चासो छैन । आत्महत्या, लागुऔषध दुव्र्यसन तथा अन्य घटनामा युवाको संलग्नता बढिरहेको तथ्यांकले देखाएको छ । 

पालिकागत रूपमा हेर्ने हो भने लागुऔषध नाइट्राभेटसहित बनेपा नगरपालिकामा ०७७/७८ मा ३ वटा मुद्दा दर्ता भएको थियो । उक्त अभियोगमा ४ जना पक्राउ परेका थिए । ०७८/७९ मा २ वटा मुद्दामा दुई जना समातिएका छन् । पाँचखाल नगरपालिकामा लागुऔषध अभियोगमा ०७८/७९ मा १ एउटा मुद्दा दर्ता भएको थियो । जसमा १ एक जना पुरुष पक्राउ परेका छन् । दुई जना फरार छन् । भुम्लु गाउँपालिकामा ०७७/७८ एउटा मुद्दा दर्ता भएको छ । धुलिखेल नगरपालिकामा चालु वर्षको ६ महिनामा एउटा मुद्दा दर्ता भएको छ ।

रोशी गाउँपालिकामा ०७७/७८ मा ३ वटा मुद्दा दर्ता भएका छन् भने सोहि अभियोगमा ३ जना पक्राउ परेका छन् । ०७८/७९ मा १ वटा मुद्दामा ३ जना पक्राउ परेका छन् । त्यस्तै पनौती नगरपालिकामा लागुऔषधअन्तर्गत गाँजाको कारोवार गरिरहेको अभियोगमा एउटा मुद्दा ०७७/७८ मा दर्ता भयो । जसमा १ जना पक्राउ परे । चालु आर्थिक वर्षको ६ महिनामा ४ वटा मुद्दा दर्ता भएका छन् । जसमा ६ जना पुरुष र एक जना महिला थुनिएका छन् । 

तथ्यांकमा खानीखोला, महाभारत, नमोबुद्द, मण्डनदेउपुर, चौरीदेउराली, तेमाल र बेथान्चोक गाउँपालिकामा ३० महिनामा एउटा पनि लागुऔषधका मुद्दा दर्ता भएका छैनन । यसको मतलब त्यहाँ घटना नभएका र नहुने भन्ने होइन । सदरमुकाम धुलिखेलमा पनि अघिल्ला दुई आर्थिक वर्षमा त्यस्तो मुद्दा छैन । तर, चालु वर्षको ६ महिनामा एउटा मुद्दा दर्ता भएको छ । लागुऔषध ओसारपसार, प्रयोग तथा दुव्र्यसनमा फसेकाहरूलाई उद्धारका लागि अझै प्रभावकारी सचेतना कार्यक्रम तीन तहकै सरकार, विद्यालय तथा समुदायमा हुनु आवश्यक छ । प्रहरीले फेला पारेर पक्राउ गरेको अभियुक्तको संख्या थोरै छ तर सुधारका लागि चालिएका प्रयास पनि प्रभावकारी बन्न सकेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेको पछिल्लो तथ्यांकअनुसार ०७७/७८ मा ८ वटा मुद्दा दर्ता भए । लागुऔषध नाईट्रोभेट र गाँजासहित पक्राउ परेका व्यक्तिलाई मुद्दा चलाएको छ । तर पनि अरनिको र विपी राजमार्गको केन्द्र व्यापारिक नगरी बनेपामा लागुऔषध ओसारपसारको केन्द्र बनिरहेको छ । ०७८/७९ मा ४ वटा मुद्दा दर्ता भएका छन् । चालु वर्षको ६ महिनामा ३ वटा मुद्दा दर्ता भएका छन् । पछिल्ला ३० महिनामा १५ वटा लागुऔषधका मुद्दा दर्ता हुँदा २३ जना पक्राउ परेका छन् । एक जना महिला छन् । अझै चार जना मुद्दामा संलग्न व्यक्ति फरार छन् । 

– मोतीराम तिमल्सिना
 

टिप्पणीहरू