‘मिसम्याच’ करदाताले चैत मसान्तसम्म छुट पाउने

‘मिसम्याच’ करदाताले चैत मसान्तसम्म छुट पाउने

आन्तरिक राजस्व विभागले विगत वर्षमा आय विवरण र कर दाखिला गर्दा करको अंक फरक परेका (मिसम्याच) करदातालाई यही चैत मसान्तभित्र कर बुझाएमा छुट प्रदान गर्ने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०७७÷७८ सम्मको आफ्नो कारोबार घोषणा गर्दा वास्तविक कारोबार अंकमा फरक परेका करदाताले चैत मसान्तभित्र फरक परेको बिक्री रकमको १.५ प्रतिशत मात्र कर बुझाएमा घोषणा गरेकै कर अन्तिम हुने गरी छुट प्रदान गर्ने विभागले जानकारी दिएको छ । 

सूचनामा भनिएको छ, ‘विगत आय वर्षमा पूर्वानुमानित आय विवरण र कर दाखिला गरेका करदाताले आर्थिक वर्ष २०७७÷७८ सम्मको आफ्नो कारोबार घोषणा गर्दा वास्तविक कारोबार अंक फरक परेको (मिसम्याच) भएमा २०७९ चैत मसान्तभित्र प्रत्येक आर्थिक वर्षको वास्तविक कारोबार घोषणा गरी फरक परेको बिक्री रकमको १.५ प्रतिशत कर दाखिला गरेमा करदाताले घोषणा गरेको हदसम्मको कर अन्तिम हुने व्यवस्था आर्थिक ऐन, २०७९ को दफा २९ ले गरेको छ ।’

त्यस्तै, यो सुविधा आर्थिक वर्ष २०७७÷७८ सम्मको मिसम्याच रकमको खरिद बिक्रीमा कर निर्धारण भई बक्यौता रहेको तथा मुद्दामा गएको अवस्थामा समेत प्राप्त गर्न सकिने बताइएको छ । 

विभागले यस सम्बन्धमा थप जानकारीका लागि आफू दर्ता रहेको करदाता सेवा कार्यालय वा आन्तरिक राजस्व कार्यालयमा समेत सम्पर्क गर्न सकिने जनाएको छ ।

टिप्पणीहरू