बाबु सक्कली, छोरा नक्कली

बाबु सक्कली, छोरा नक्कली

तिब्बतीलाई नेपाली नागरिकता दिने धन्दा चल्दै थियो, २०५२ सालदेखि । त्यसको खुलासा अहिले भएको छ । थाहा छैन, २७ वर्षमा कति तिब्बतीलाई नागरिकता ‘बेचियो’ ? पाँच सय नागरिकता बेचिएमध्ये ३० वटाको प्रमाण र सोको आधारमा जारी एमआरपी राहदानीबारे प्रहरीले छानबिन शुरु गरेको छ भने यससम्बन्धी सारा प्रमाण जिल्ला प्रशासन कार्यालय, काठमाडौँले हिजो प्रहरीलाई पठाएको छ ।

एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) गृहमन्त्री हुँदाका सुरक्षा सल्लाहकार इन्द्रजित राईहरूको गिरोहले नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाएको खबर नसेलाउँदै तिब्बती शरणार्थीलाई नेपाली नागरिकता दिने गरिएको खुलासा भएको हो । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका नासु देवराज गौतमलाई उपत्यका अपराध महाशाखाले पक्राउ गरेपछि बल्ल प्रहरीले थाहा पायो, यो काम नै ०५२ सालदेखि बल्ल चल्दै आएको रहेछ ।

नासु गौतमसँगै लेखापढी व्यवसायी कृष्णबहादुर कट्वाल, हिरालाल शिवाकोटी, नक्कली बाबु बनेका न्युल्केश श्रेष्ठ र तनहुँस्थित शरणार्थी शिविरमा बस्दै आएका लोब्साङ ठिन्ले पनि पक्राउ परे । बाबु सक्कली, छोराछोरी नक्कली । अर्थात्, नेपाली नागरिकता भएको एउटा मान्छेलाई बाबुका रूपमा देखाएपछि उनका सन्तानको रूपमा नक्कली (तिब्बती) हरू खडा गरिने र नागरिकता दिइने धन्दा थियो त्यो । नेपालको प्रशासनिक प्रक्रियामा बाबुको नागरिकतामात्रै हेरिन्छ ।

त्यसबाहेक नागरिकता बनाउनुपर्नेको जन्मदर्ता वा परिचय खुल्ने कुनै प्रमाणपत्र भए पुग्छ । त्यसका लागि स्थानीय तहका जनप्रतिनिधिले नाता प्रमाणित गरिदिए वा जन्मदर्ताको कागज बनाइदिए भयो । यो गिरोहले सोलुखुम्बुबाट काठमाडौंमा बसाइँ–सराईको कागज बनाएको र बसोबास भएको वडा कार्यालयले नागरिकताका लागि सिफारिस लेखिदिएको भेटिएको छ । प्रहरीले यो काममा सहयोग गर्ने र जिल्ला प्रशासन कार्यालय हातामा क्यान्टिन चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइसकेको छ ।

अब वडा कार्यालयबाट सिफारिस बनाइदिने जनप्रतिनिधि र सचिवलाई अनुसन्धानको दायरामा ल्याइने भएको छ । त्यसरी नागरिकता लिएका थुप्रै व्यक्तिले सोही आधारमा राहदानी लिएको र कतिपयले देश पनि छोडिसकेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका नासुले बाबुको नागरिकता हेरेर आफूले विश्वासपूर्वक नागरिकता जारी गराएको भनेका छन् । तर, गिरोहका अन्य सदस्यले उनै नासुको सहयोगमा यो सबै काम सम्भव भएको बयान दिएको पाइन्छ ।
 

टिप्पणीहरू