कति दुःख छ यो देशलाई कठै

कति दुःख छ यो देशलाई कठै

एउटा पाइलटलाई पेट दुःख्यो, सयौँ यात्रुको बिचल्ली ! त्यो देशलाई नेपाल भन्छन् ! यस्तो भाष्यको विकास किन हुँदैछ भने, ठाउँमा बसेका मान्छे आफैँ जान्ने–सुन्ने, अरुका कुरा हुँदा मौन बस्ने ! नेपाल वायुसेवा निगमका अपरेशन प्रमुख रविन्द्रकुमार शेरचनले वाइडबडी जहाज उडाउने चारै पाइलटलाई तालिममा हालिदिँदा चैत १८ गते, शनिबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको रमिता सुन्दा पनि लाजै लाग्ने खालको छ । जहाज उड्नै लागेको थियो । को–पाइलटले म बिरामी छु भनिदिए । काठमाडौंबाट दुबई जाने र आउने करिब ५ सय ४३ यात्रु यसबाट सीधै प्रभावित भए ।

राति १२ बजे दुबई उड्ने आरए २२९ जहाजका लागि बोर्डिङपास लिइसकेका २ सय ६६ यात्रु थिए । को–पाइलटको पेट दुख्दा उनीहरूलाई सिनामंगल, गौशाला, ज्ञानेश्वरका होटलमा राख्नुप¥यो । त्यसदिन जहाज उडाउनका लागि क्याप्टेन योगेश हिराचन र को–पाइलट गोपालसिंह बिष्ट तोकिएका थिए । जहाजको खानाले को–पाइलट बिष्टलाई ‘फुड प्वाइजन’ भयो, पेट बेस्सरी दुःख्यो । उनले ‘सिक रिपोर्ट’ गरे । अर्काे को–पाइलटको खोजी भयो । भेटिए पनि । तर, ‘दुई–चार पेग’ हानिसकेका कारण जहाजमा ड्युटी गर्न असमर्थ भए ! दुई वाइडबडी भएको निगमसँग आठ क्याप्टेन र ६ जना को–पाइलट छन् । तीमध्ये विजय लामा, सुनील श्रेष्ठ, जिवेश लामा, अमूल्यमान शाक्य गरी चारजना क्याप्टेन तालिमका लागि बहराइन पुगेका छन् । दुई–दुई जनाका दरले पाइलटलाई तालिममा पठाइएको भए यो दुःख हुने थिएन । तर, एकैचोटि चार–चार पाइलट छुट्टीमा हुँदा रातभरि तमाशा चल्यो । यसबारे २४ घण्टे स्पष्टिकरण सोधिएको छ । 

अर्कातिर, निर्माणकार्य सम्पन्न भई अपरेशन शुरु हुनुपर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको दुःख फरक छ । त्यहाँबाट विदेशको उडान गराउने निर्णय भयो, यात्रु भएनन् । विदेश जाने भनेको विशेषतः खाडी मुलुकमा हुन् । म्यानपावर कम्पनीहरू सबैजसो काठमाडौंमा छन् । पासपोर्ट जिम्मा लिएर राख्ने म्यानपावर कम्पनी काठमाडौंमा हुँदा यात्रुले काठमाडौंबाट भैरहवा र भैरहवाबाट विदेश जाने उल्टो बाटो रोजेनन् । फलतः विमानस्थल नै अलपत्र प¥यो ।

यी सबै दुःखलाई केलाएर हेर्दा नेपाल वायुसेवा निगम र नागरिक उड्डयन प्राधिकरणका बीचको असहमतिलाई समस्याको कारक मान्ने गरिएको छ । जस्तो कि, गत माघमा हङकङ विमानस्थलमा एटिसीको निर्देशन नमानेको भन्दै पाइलट उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मा निलम्बित भए । त्यही महिना काठमाडौंबाट जापान उड्ने क्रममा ‘स्ट्याण्डर्ड अप्रेशनल प्रोसिड्युर’ पालना नगरेको भन्दै पाइलटहरू प्रसन्न राना र वाइपी जुहारचन निलम्बनमा परे । एकातिर प्राधिकरणले नरबहादुर विश्वकर्मालाई अघिल्लो दिन निलम्बनको चिठी दियो, भोलिपल्टै निगमले उनलाई मलेसियाको क्वालालम्पुर उडानमा खटाइदियो । 

यसरी निगम र प्राधिकरणका हाकिमको समस्याले पाइलट र एयरहोस्टेस मारमा पर्छन् । पर्यटन मन्त्रालयले बीचमा बसेर कुरा मिलाइदिन्छ, फेरि समस्या बल्झिन्छ उस्तै ! उता, देश सानो र गरिव छ । जनसंख्यामध्येको आधा जनशक्ति विदेशिएको छ । तर, देशमा नयाँ–नयाँ नामका आयोजना–परियोजना चलाउने होडबाजी शुरु भएको छ । यसरी भर्खरै दुई नयाँ विश्वविद्यालयका काम अगाडि बढाइएको छ । 

मुलुकलाई आर्थिक मन्दीले गाँजेको छ । आयात नियन्त्रण गर्नेसम्मका नीति ल्याइएको छ । चालु खर्च धान्न मुश्किल पर्ने अर्थतन्त्र छ । र, यही देशमा करोडौँ खर्च हुने दुई नयाँ विश्वविद्यालयको काम अगाडि बढाइएका छन् । एउटा हो, पर्यटन विश्वविद्यालय र अर्को पशुपति हिन्दू विश्वविद्यालय । पर्यटन तथा होटल व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गरी विश्व पर्यटन प्रवद्र्धनमा योगदान दिने नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) र पर्वतारोहण कार्यलाई व्यवस्थापन गर्ने माउण्टेनियरिङलाई मिलाएर पर्यटन क्षेत्रमा व्यापक जनशक्ति उत्पादन गर्न विश्वविद्यालयको अवधारणा अगाडि सारियो । त्यसको काम अगाडि बढिसकेको छ ।

अर्कातिर, पूर्वीय दर्शनबारे अध्ययन, अध्यापनका लागि पशुपति हिन्दू विश्वविद्यालय स्थापनाको काम अगाडि बढाइएको छ । प्रा.डा.जगमान गुरुङको संयोजकत्वमा कार्यदल बनिसकेको छ । उक्त विश्वविद्यालय पशुपति क्षेत्रकै जग्गा रहेको गोठाटार, मूलपानी क्षेत्रमा खडा गर्ने तयारी छ । विभिन्न एउटैलाई फुटाएर ३ वटा बनाइएको प्रज्ञा प्रतिष्ठानमा तलब–भत्ता खाने २६ जना प्राज्ञ देशले पाल्नुपर्ने भएको छ । 

यसबीच, बितेको मार्च महिना नेपालमा एक लाख विदेशी पर्यटक भित्रिएका र सन् २०२३ लागेयतामात्रै दुई लाख २० हजारले नेपाल टेकेका छन् । अनुमान छ, सन् २०२३ भरिमा १० लाख पर्यटक नेपाल आउँछन् । आउनेमध्ये बढी भारतका छन् भने दोस्रोमा युरोपेली, अमेरिकी छन् । अब चीनले अर्को साता, अर्थात् अप्रिल १३ देखि पर्यटक भिœयाउँदैछ । त्यसदिन त्यहाँबाट एकैचोटि दुई हजार पर्यटक आउँदै छन् ।

 

टिप्पणीहरू