घरको नक्सा बनाउन उपमहानगर आफैँ कस्सियो

घरको नक्सा बनाउन उपमहानगर आफैँ कस्सियो

इटहरी उपमहानगरपालिकाले उपमहानगरपालिकाभित्र नयाँ घर निर्माण गर्दा आफैँले नक्सा बनाइदिने भएको छ । भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउ पुराउन उपमहानगरले यस्तो निर्णय गरेको हो । 

प्राइभेट इञ्जिनियरिङ कन्सल्टेन्सीमार्फत नक्सा डिजाइन गर्दा धेरै महँगो परेको गुनासो बढेपछि नक्साका बनाउन उपमहानगर आफैँ लागेको उपमेयर संगीताकुमारी चौधरीले जानकारी दिइन् । भवनको नक्सा बनाउँदा स्थानीयले चर्को शुल्क तिर्नु परेको गुनासो पटक-पटक आइरहेकाले सहुलियत दरमा उपमहानगर आफैँले नक्सा बनाइदिन लागेको उनले बताइन् । 

‘भवनको नक्सा बनाउँदा लाग्ने शुल्कबारे थाहा नहुँदा चर्को शुल्क तिर्नुपरिरहेको गुनासो पटक-पटक उपमहानगरमा आउने भएकोले हामीले सहजीकरणका लागि यस्तो निर्णय गरेका हौँ’, उनले भनिन् । यो निर्णय आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउने उपमहानगरले बताएको छ । त्यसका लागि शुरुमा निवेदन लिने र त्यसपछि आवश्यक प्रक्रिया मिलाएर नक्सा बनाइने छ। 

भूकम्प प्रतिरोधी घर निर्माणमा स्थानीयलाई जागरुक बनाउन उपमहानगरपालिकाले नै चाहेअनुरुपको नक्सा बनाइदिन लागेको उपमेयर चौधरीको भनाई छ ।
 

टिप्पणीहरू