विनोद चौधरीका पार्टनरले दिउँसै रात पारे

विनोद चौधरीका पार्टनरले दिउँसै रात पारे

ललितपुरको बखुण्डोलमा लक्जरियस होटल र अपार्टमेण्टका निम्ति जग खन्दै गरेको अवस्थामा डलर अर्बपति विनोद चौधरीको समिट होटल एण्ड अपार्टमेण्टका कारण स्थानीय आठ घरलाई क्षति पुगेको छ । दुई वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने अन्य आधा दर्जन घर बस्न नमिल्ने अवस्थामा छन् । 

शुक्रबार रातिदेखि बखुण्डोलको समिट होटल छेउछाउका स्थानीय घरबारविहीन भएका छन् । डलर अर्बपति विनोद चौधरीको लगानी रहेको उक्त भवन निर्माणका कारण उनीहरुको श्री सम्पत्ति नष्ट भएको हो । उक्त परियोजनामा चौधरी,रविभक्त श्रेष्ठ र अमृतरत्न शाक्यको लगानी छ । 

चौधरीको मुख्य कम्पनी सिजीको नामबाट गरिएको भनिएको समिट परियोजनाको लगानी अन्ततोगत्वा डलर अर्बपतिको हो । विनोद चौधरी चौधरी ग्रुपका अध्यक्ष हुन् । तर समिट होटल प्रालिको तर्फबाट प्रोजेक्ट सञ्चालक सचित श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उक्त निर्माणाधीन भवनमा चौधरीको संलग्नता नरहेको झुठो दाबी गरिएको छ । 

श्रेष्ठले परियोजनाको कारण छेउछाउका घर भासिन गएको स्वीकारे पनि सामान्य ढंगले लिएको देखिन्छ । उनले जग्गाको पाइल प्रोटेक्सन गर्ने क्रममा पूर्व दक्षिणतर्फको केही जमिन भासिन गई स्थानीयवासीको आवासमा असर परेको आज जारी विज्ञप्तिमा दावी गरेका छन् ।

तर सो विषयमा विनोद चौधरीको नाम मुछिएको भन्दै खण्डन पनि गरेका छन् । उनले लेखेका छन्, ‘उक्त विषयमा विनोद चौधरीको प्रत्यक्ष कुनै संलग्नता छैन । सिजीको सो प्रोजेक्टमा इन्भेष्टरको मात्रै रोल हो ।’

उनको भनाइअनुसार घर भत्कनुमा प्रत्यक्ष संलग्नता सम्भवतः त्यहाँ काम गर्ने कामदारको मात्रै छ । किनभने ती कामदार जग खन्ने कार्यमा प्रत्यक्ष रुपमा सहभागी हुँदै आएका छन् । फोर्ब्स पत्रिकाले गत साता धनीहरुको सूचीमा उनको नाम अझ माथि समावेश गरेपछि डलर अर्बपति दुबई गएका छन् । यस्तो अवस्थामा चौधरीको प्रत्यक्ष संलग्नता नभएको अर्थ लगाउँदै विज्ञप्ति र भिडियो जारी गरिएको छ । 

उनले निर्माण कम्पनी, स्थानीयवासी र जनप्रतिनिधिसमेतको रोहबरमा छलफल गरेर समस्या समाधानमा सहमति भइसकेको दाबी गरेका छन् । उनले सहमतिअनुसार काम अगाडि बढाइने विज्ञप्तिमा उल्लेख गरेका छन् । जबकि ललितपुर महानगरपालिकाले हिजो बिहान उक्त कम्पनीलाई हदैसम्मको कारबाही गर्ने बताएको थियो ।

नक्सा पास नगरेको र महानगरको स्वीकृति नलिएकोमा चौधरीको निर्माण कम्पनीलाई कारबाही गरेर पीडित स्थानीयलाई उचित क्षतिपूर्ति दिलाइने वचनसमेत मेयर चिरिबाबु महर्जनले दिएका थिए ।उता,प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले समिट अपार्टमेण्ट प्रोजेक्टले वातावरणीय प्रभाव मूल्याङ्कन नगरेको बताइसकेको छ ।

यो पनि:

1. विनोद चौधरीलाई कारबाहीसँगै १० अर्बको रोडम्याप

2. विनोद चौधरीलाई स्थानीय सरकारमा बोलाइयो,हदसम्मको जरिवाना तिराउने तयारी

3. विनोद चौधरीको कारण दुई घर भत्किए,अरु आधा दर्जन धरापमा

4. नेपालीले वाइवाइ नखाँदा पनि विनोद चौधरीको सम्पत्ति ह्वार्ह्वारी

टिप्पणीहरू