‘अनलाइन युपिएस’ जडान गर्न त्रिभुवन विमानस्थल ६ घण्टा बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टाका लागि बन्द गरिने भएको छ । आज राति १ बजेदेखि भोलि बिहान ७ बजेसम्म विमानस्थल बन्द गर्न लागिएको हो ।
विद्युत आपूर्ति प्रणाली सुदृढीकरण गर्नका लागि ‘अनलाइन युपिएस’ जडान गर्नुपर्ने भएकाले सो अवधिका लागि सम्पूर्ण उडान–अवतरण ठप्प पारिएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए ।
यात्रुहरुको सुरक्षालाई थप प्रभावकारी बनाउने उद्धेश्यले विद्युत आपूर्ति प्रणालीलाई सुदृढीकरण गर्न लागेको उनले जानकारी दिए ।
विमानस्थलले सूचना जारी गर्दै उक्त समयमा यात्रा गर्ने यात्रुहरुलाई सम्बन्धित एअरलाइन्समा सम्पर्क गर्न र आवश्यकता अनुसारको व्यवस्था मिलाउन अग्रिम जानकारी गराएको छ ।
सूचनामा भनिएको छ,‘२०८० वैशाख ७ गते बिहान १ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थलमा आन्तरिक–अन्तर्राष्ट्रिय वायुयान उडान–अवतरण बन्द रहने र उक्त समयमा यात्रा गर्नुहुने यात्रुहरुले सम्बन्धित एअरलाइन्ससंग सम्पर्क गरी आवश्यकताअनुसारको व्यवस्था मिलाउन विशेष अनुरोध गर्दछौं ।’
टिप्पणीहरू