‘२०८४ सालसम्म ओली प्रवृत्तिको अन्त्य हुनेछ’
नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपाकालमा विकासका गफ बढी भएको भन्दै ओली नेतृत्वमा आधा धरहरा ठडिएको टिप्पणी गर्नुभएको छ । ‘रेल, पानी जहाजका थुप्रै कुराहरु भए आखिर निर्माण नसकिँदै गरिएको धरहराको उद्घाटन र छेवैमा रहेको रानी पोखरीको सानो मन्दिर बनाउनेबाहेक ओलीको नेतृत्वमा के काम भयो ?’ उहाँले प्रश्न गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७४ औँ वर्षगाँठका अवसरमा हेटौँडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले पार्टी निर्माणको सन्दर्भलाई समेत रमाइलो पाराले व्याख्या गर्नुभएको छ । हतारमा घर बनाउँदा दलिन हाल्नुपर्ने ठाउँमा भाटा परेको र भाटा हाल्नुपर्ने ठाउँमा दलिन परेको भन्दै त्यसलाई मिलाएर बलियो घर बनाउने अभियान थालिएको उहाँको भनाई छ ।
‘केन्द्रदेखि गाउँसम्म यस्ता घटनाक्रम भएका होलान्, अब यी सबै कुराको सुधार गरेर वामशक्तिलाई मजबुत बनाउने गरी हामी हिँड्नेछौँ’, उहाँले भन्नुभयो । वाध्यता वा जानाजान गलत ठाउँमा हालिएका दलिन र भाटाहरुलाई केन्द्रदेखि गाउँतहसम्मै मिलाउन थालिएको भुसालको टिप्पणी छ ।
उहाँले नयाँ संविधान जारी भएपछि २०७४ सालमा पाएको ऐतिहासिक जिम्मेवारी पूरा गर्न तत्कालीन नेकपाले नसकेको बताउनुभयो । त्यतिखेरको नेकपा, सरकार र सदनलाई जोगाउन नसक्दा अहिलेको कठिन परिस्थिति निर्माण भएको उहाँको निश्कर्ष छ ।
‘तत्कालीन नेकपा एमालेको नवौ महाधिवेशनले सही कार्यनीति पारित गरेको थियो’, भुसालले सम्झँदै भन्नुभयो, ‘तर ४४ मत नपुगेर त्यो कार्यनीति कार्यान्वयन हुन पाएन र अहिलेको अवस्था सिर्जना भएको हो ।’ २०७४ मा नेकपाको नेतृत्वमा सरकार हुँदा हावा गफ बढी भएको, सुशासन, विकास जस्ता कुराहरु गफमै सीमित भएको उहाँको भनाई छ ।
महासचिव भुसालको भनाई छ–‘हामीले राष्ट्रिय पुँजी निर्माण र परिचालन गर्न सकेमात्रै विकासको लहर ल्याउन सक्छौँ, कृषि र विद्युतमा आधारित उद्योग चलाउँदा उत्पादन बढ्छ र त्यसले राष्ट्रिय पुँजी निर्माण अनि रोजगारीलाई आत्मसात गर्न सक्छ ।’
एक अर्काे प्रसंगमा उहाँले तत्काल माओवादी केन्द्र र जसपासँग मोर्चा निर्माण हुने अवस्था रहेको पनि जानकारी दिनुभएको छ । आगामी २०८४ सालसम्म ओली प्रवृत्तिको अन्त्य गरी वामशक्तिलाई मजबुत बनाउनुपर्ने भन्दै सबै मिलेर कम्युनिष्ट जनमतलाई संरक्षण गरी अघि बढ्नुपर्नेमा सबैले ध्यान दिन सल्लाह दिनुभयो ।
संसद विघटनपछि आफूहरु ओलीविरुद्ध सडक, सदन र अदालतसम्म पुगेको घटना कोट्याउँदै उहाँले भन्नुभयो, ‘संसद विघटनपछि पुनः चुनाव हुने विश्वास ओलीले दिलाएका भए शेरबहादुर देउवा बोकेर अदालतमा ज्यान गए उभिने थिएनौं’, महासचिव भुसालले उल्लेख गर्नुभयो ।
जिल्ला अध्यक्ष विष्णुप्रसाद दाहालको अध्यक्षतामा आयोजित भेलामा हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना लामा, स्थायी कमिटी सदस्य विरोध खतिवडा, निर्वाचन आयोग संयोजक माधव पौडेललेलगायतले मन्तव्य राख्नुभएको थियो । स्थायी कमिटी सदस्य ललित बस्नेत, केन्द्रीय सदस्य मुनु सिग्देल, राजाराम स्याङ्तान, सूर्यचन्द्र न्यौपानेसहित बागमती प्रदेश कमिटी सदस्यहरुको पनि कार्यक्रममा उपस्थिति थियो ।
टिप्पणीहरू