उपेन्द्र यादवका छोराले पैसा बाँडेको सीके राउतको आरोप
भोलि हुने उपनिर्वाचनमा बारा २ का उम्मेदवार उपेन्द्र यादवका छोराले गए राति पैसा बाँडेको आरोप लागेको छ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नेपाल प्रहरी मुख्यालय, निर्वाचन आयोग, कमरेड प्रचण्ड र गृह मन्त्रालयलाई ट्याग गरेको ट्विटमा उक्त आरोप लगाएका हुन् ।
नेपाल सरकार र नेपाल प्रहरीका कुकृत्य भन्दै उनले महागढीमाई ४, दहियारमा राती ९ बजे जनता समाजवादी पार्टीका अध्यक्ष तथा उम्मेदवार उपेन्द्र यादवका छोराले गाडीबाट पैसा बाँडेको गम्भीर आरोप लगाएका हुन् । आफूहरुले विरोध गरेपछि प्रहरीले कार्तिकदेव पाण्डेलाई पक्रेको उनको भनाइ छ ।
त्यस्तै करैयामाई ३, गालोपट्टी वजनीमा पनि जसपाले पैसा बाँडेको उनले आरोप लगाएका छन् । राउतले लेखेका छन्, ‘प्रहरीको संरक्षणमा बाँडियो, जनमतका कार्यकर्ता मुकदर्शक ।’
उनले सुवर्ण गाउँपालिका २, कबही, पचरौता नगरपालिका ४, बेलदारीमा पनि अनियमित कार्य भएको उनले सामाजिक सञ्जालमा लेखेका छन् । राउतले हिजो रातिसम्म पनि जसपाले डिजे बजाउँदै घरदैलोको नाममा पैसा बाँडेको उल्लेख गरेका छन् । त्यसमा प्रहरीले सघाएको उनको आरोप छ ।
टिप्पणीहरू