गैरकानुनी प्रशारण रोक्न केबल व्यवसायीहरुको माग

गैरकानुनी प्रशारण रोक्न केबल व्यवसायीहरुको माग

नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले प्रशारण क्षेत्रमा देखिएको विद्यमान समस्या समाधान गर्नुपर्ने आवाज उठाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको ध्यानाकर्षण गराउँदै महासंघले प्रशारण क्षेत्रको समस्या समाधान गरेर व्यवस्थित र मर्यादित बनाउन आग्रह गरेको छ ।

गैरकानुनी प्रशारणले डिजिटल केबल व्यवसायीहरु धरासायी बनेको उल्लेख गर्दै महासंघले त्यसलाई तत्काल रोक्न भनेको छ । राष्ट्रिय प्रशारण ऐन, नियमावलीले ओटिटी सञ्चालनका लागि मन्त्रालयबाट अनिवार्य इजाजत लिनुपर्ने व्यवस्था गरिएको सन्दर्भ उल्लेख गरिएको छ ।

अधिकांश विदेशी तथा स्वदेशी ‘ओटिटी एप’ बिनाइजाजत निर्वाध रुपमा सञ्चालन हुँदै आएकाले तत्काल बन्द गराउनुपर्ने महासंघको भनाइ छ । ‘गैरकानुनी रुपमा सञ्चालित सयौं विदेशी तथा स्वदेशी ओटिटी एपहरु जस्तैः नेटफ्लिक्स, अमेजन, प्राइम, हटस्टार, जीफाइभ, भुट, डिस्नी हटस्टारमा विदेशी विज्ञापनसहित सेन्सर नै नभएका प्रशारण सामग्रीहरु निर्वाध रुपमा प्रशारण हुँदासमेत त्यस्तो गैरकानुनी प्रशारण तत्काल बन्द गराउनुपर्नेमा हालसम्म पनि निर्वाध रुपमा सञ्चालन हुँदै आइरहेको अवस्था विद्यमान छ,’ मन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा लेखिएको छ । 

महासंघका अनुसार नेपालमा आयात हुने इन्टरनेट ब्यान्डविथबाट नै ओटिटी एप बन्द गर्न जरुरी देखिएको हो । उक्त कार्य तत्काल नरोके प्रशारण शुल्क निर्धारण गरी लागु गरिएको ‘आलाकार्ट’ मूल्य प्रणाली कार्यान्वयनमा समेत समस्या आउनेतर्फ सचेत गराइएको छ । 

ओटिटीबाट अश्लिल, सामाजिक खलल पार्ने, द्वन्द्व भड्काउने र कलह सिर्जना हुने सामग्री प्रशारण हुँदै आएको जानकारी गराउँदै महासंघले यसले राष्ट्रियतामा नकारात्मक असर पार्ने उल्लेख गरेको हो । यसले नेपालमा सञ्चित विदेशी मुद्रासमेत गैरकानुनी बाटो हुँदै भारतलगायत अन्य मुलुक गइरहेको जानकारी पनि दिएको छ । 

‘नेपालमा सञ्चित विदेशी मुद्रासमेत गैरकानुनी बाटो हुँदै नेपाल सरकारलाई कुनै राजस्व (प्रशारण शुल्क, मूल्यअभिवृद्धि कर तथा टिडिएस आदि) नतिरी ठूलो नेपाली मनि फ्लाई हुने हुँदा तत्काल त्यस्तो गैरकानुनी कार्यमा रोक लगाउनुपर्छ,’ पत्रमा भनिएको छ ।

टिप्पणीहरू