सांसदहरुको गुनासो सभामुख सुनाउने, प्रधानमन्त्री सुन्ने

सांसदहरुको गुनासो सभामुख सुनाउने, प्रधानमन्त्री सुन्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुले आज भेटघाट गर्नुभएको बताइएको छ ।

भेटमा संसद् बैठक, नीति तथा कार्यक्रम र बजेटबारे छलफल भएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए । उनका अनुसार भेटमा प्रधानमन्त्री र सभामुखले संसदीय समिति गठनपछि संसदमा विचाराधीन विधेयकहरु टुंगोमा पुग्ने विश्वास जनाउनुभएको छ । 

त्यसक्रममा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेले एक अर्काबाट प्राप्त सहयोगप्रति खुशी व्यक्त गर्नुभएको बताइएको छ । संसद् सञ्चालनका लागि सबै दलसँग समन्वय र सहकार्यको प्रयास गरेकामा प्रधानमन्त्रीले सह्राना गर्नुभएको थियो । जवाफमा सभामुख घिमिरेले सदन सञ्चालनका लागि सरकार र राजनीतिक दलका तर्फबाट प्राप्त सहयोगका लागि धन्यवाद दिनुभएको जानकारी दिइएको छ । 

तर, सभामुखले प्रधानमन्त्रीसँग एउटा गुनासो पनि राख्नुभयो । भेटवार्ताको संवाद उद्धृत गर्दै प्रेस संयोजक अधिकारीले भने, ’सदनमा उठेका विषयमा सरकारको जवाफ नपाएको माननीयहरुको गुनासो छ, प्रधानमन्त्रीले गम्भीरतापूर्वक लिनुहुन्छ भन्ने विश्वास लिएको छु ।’

टिप्पणीहरू