झण्डै सांसदले कस्सो भ्याए ढुंगानालाई

झण्डै सांसदले कस्सो भ्याए ढुंगानालाई

यसपटक सांसद मञ्जु खाँणको पद जान्छ कि भनेर धेरैले अनुमान लगाएका थिए । तर, उनका पति पूर्वगृहमन्त्री बालकृष्ण खाँण नै हिरासतमा गएर कागज चपाउँदै पत्नी र पत्नीको सांसद पद जोगाउने काममा अग्रसर भएपछि सांसद हुने दिनमै आइपुगेर फेरि रोकिएकी छन्– कांग्रेस मकवानपुरकी नेता उमा दाहाल । क्षेत्री–बाहुन क्लस्टरमा मञ्जुकै कारण रोकिएकी र यसपटक मञ्जुको पद गए उनी समानुपातिक सांसद हुने पक्का थियो । तर, के गर्ने मञ्जुका पतिले कागज जो खाइदिए ! 

यिनै दाहालका कारण मकवानपुरका एक युवाको जीवन भने तहसनहस हुने अवस्थामा पुगेको छ । ०७९ मंसिरमा कोइलाको कारोबार गर्ने भनेर दाहालसँग व्यापारिक साझेदार बन्न तयार अर्जुन ढुंगानाले आफू बर्बाद हुन लागेको बताउँदै मिडिया गुहारेका छन् । 

उनले दाहाललाई दिएको १ करोड १५ लाखको चेकका कारण समस्या खेप्नु परेको, प्रहरी कार्यालयमै रक्तमुछेल हुने गरी पिटाइ खानु परेको, राजनीतिक आडमा काठमाडौँमा गुण्डागर्दी गर्नेहरूले मार्ने धम्की दिइरहेको र आर्थिक कारोबार डामाडोल हुँदा पत्नीको छातिको क्यान्सरको उपचारसमेत गर्न नपाएको बताएका छन् । 

इँट उद्योगलाई कोइला निर्यात गर्ने भनेर दाहालकी छोरा पेसर दाहालका नाममा चेक काटिँदा पोखराको ५ करोड रूपैयाँ बराबरको जग्गा पनि हडपिएको, कालो सूचीमा राखेर १ करोड रूपैयाँको मुद्दा चलाइएको, अदालतमा मुद्दा चलिरहँदा कहिले हेटौँडा, कहिले चेकपोष्ट, कहिले कालिमाटी र टेकुमा बोलाई दुःख दिइएको, कुटपिट भएको ढुंगानाले बताए । 

यति मात्र होइन, उनले दाहाललाई करारपछि दिएको १ करोड १५ लाखको चेकबुक नै ६ महिनाको डेट गएपछि दाहालले कब्जा गरेको, बैंकमा गएर चेक बन्द गराउँदा पनि एसबिआइ हेटौँडाले रिमार्कमा ‘चेक बन्द नभनी’ ‘पैसा नभएको’ भनेर लेखिदिएको ढुंगानाको भनाइ छ । उनका अनुसार, सही गरिएका अरु थुप्रै चेकको बुक नै दाहालले बोकेर हिँडेकाले कहाँ फसाउने हो भन्ने त्रास छ । केही महिनाअघि माओवादी युवा नेता जनक बर्तौलाले दाहाल र ढुंगानाको कारोबार मिलाउने भनेर गरिदिएको सहमति पनि दाहालले राजनीतिक पहुँचका भरमा तोडेर दुःख दिएको, घर रोक्का भएकाले पत्नीको उपचारमा खर्च नभएको र बेलाबखत बर्तौलाले मार्छु भनेर धम्की दिएको ढुंगानाले बताए ।

उनी अदालतमा मुद्दा दायर भएपछि डेढ महिनाअघि १५ लाख रूपैयाँ धरौटीमा छुटेका हुन् । केहीदिन अघि दाहालबाट कुटिएको भिडियो फेसबुकमा सार्वजनिक गरेका थिए । ढुंगाना दाहालको अत्याचारविरुद्ध काठमाडौँमा मिडिया हाउस चाहार्र्दैै आँशु बगाइरहेका छन् ।

 

टिप्पणीहरू