काठमाडौंपछि वीरगञ्ज पनि तात्यो, लक्षित वर्गलाई निःशुल्क उपचार गर्न निर्देशन

काठमाडौंपछि वीरगञ्ज पनि तात्यो, लक्षित वर्गलाई निःशुल्क उपचार गर्न निर्देशन

पर्साको वीरगञ्ज महानगरपालिकाले विपन्न तथा लक्षित वर्गलाई १० प्रतिशत शैया छुट्टयाई निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिएको छ । 

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन निर्देशन दिँदै महानगरपालिकाले विपन्न तथा लक्षित वर्गलाई कुल शैयाको १० प्रतिशत छुट्याएर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन भनेको हो । 

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७, परिच्छेद २४ को दफा ७० (घ) एवं वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य संस्था दर्ता अनुमति तथा नवीकरणसम्बन्धी निर्देशिका, २०७५ को परिच्छेद ३ को बुँदा नम्बर १५ को (१)(घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैयाको १० प्रतिशत अनिवार्य छुट्टयाई निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था छ । 

त्यस्तै, स्थानीय सरकार ऐन, २०७४ को दफा ११ (४) मा स्वास्थ्य संस्थाको नियमन गर्ने कानुनी अधिकारसमेत स्थानीय तहलाई हुने उल्लेख छ । महानगरपालिकाले सूचना जारी गर्दै निःशुल्क सेवा लिएका व्यक्तिहरुको दैनिक विवरण सूचना पार्टीमा टाँस गर्न र सोको प्रतिवेदन मासिक रुपमा जनस्वास्थ्य प्रवर्द्धन शाखामा उपलब्ध गराउन भनेको छ । 

साथै, निर्देशनबमोजिम लक्षित वर्गको उपचार नगर्ने स्वास्थ्य संस्थाहरुलाई नियमानुसार कारबाही गर्ने चेतावनी दिइएको छ । काठमाडौं महानगरपालिकाले गत जेठ ६ गते आफ्नो कार्यक्षेत्रभित्र रहेका अस्पताललगायत विभिन्न स्वास्थ्य संस्थालाई लक्षित वर्गलाई छुट सुविधा दिन निर्देशन दिएको थियो । 

तर, ६८ स्वास्थ्य संस्थाले अटेर गरेपछि मेयर बालेन शाहले तिनलाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराएका थिए ।

टिप्पणीहरू