संसद बैठक रोक्न राप्रपाको माग

संसद बैठक रोक्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको संसद बैठक स्थगित गर्न प्रस्ताव पेश गरेको छ । प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७४ बमोजिम आजको बैठक नराख्न प्रस्ताव गरेका हुन् । अत्यन्त जरुरी सार्वजनिक महत्त्वको विषयमाथि छलफल गर्नका निम्ति आजको सबै कार्यक्रम स्थगित गर्न माग गरिएको शाहीले बताए । 

राष्ट्रपति रामचन्द्र पौडेलले नियमविपरीत नागरिकता विधेयक प्रमाणीकरण गर्नुका साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा मुलुकको हितविपरीत कार्य गरेको कुरा उठेकाले यस विषयमा छलफल नगरी संसद नियमित रुपमा अगाडि नबढ्ने भएकाले निर्धारित सबै कार्यक्रम स्थगित गर्न माग गरिएको उनले जानकारी दिए । 

‘प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७४ बमोजिम देहायको अत्यन्त जरुरी सार्वजनिक महत्त्वको विषयमाथि छलफल गर्न आजको बैठकको कार्यक्रम स्थगित गरियोस् भनी यो सूचना दिएको छु,’ उनले प्रतिनिधिसभाका सचिवलाई पत्र पठाउँदै भनेका छन्, ‘उपयुक्त सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्युले नीति र नियमविपरीत नागरिकता विधेयक प्रमाणीकरण र सम्माननीय प्रधानमन्त्रीज्युले भारत भ्रमणमा मुलुकको हितविपरीत कार्य गरेको भन्ने कुरा उठेको हुँदा सम्बन्धित विषयको छलफल नगरी संसद नियमित रुपमा अगाडि नबढ्ने हुँदा निर्धारित सबै कार्यक्रम स्थगित गरियोस् भनी प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७४ बमोजिम स्थगन प्रस्तावको सूचना पेश गर्दछु।’
 

टिप्पणीहरू