योगेन्द्रकुमारीले फुक्दैमा निको हुन्छ सर्पको टोकाइ ?

योगेन्द्रकुमारीले फुक्दैमा निको हुन्छ सर्पको टोकाइ ?

बाँकेको बाँसगढी–२ महादेवामा सर्पले डसेकी श्यामबहादुर डाँगी र विष्णुदेवीकी छोरी ओमकुमारी डाँगीको अन्धविश्वासका कारण ज्यान गएको छ ।

सर्पको टोकाइबाट घाइते भएकी ओमकुमारीलाई अस्पताल लैजानुको साटो पास्चरको मन्त्रको भर पर्दा समयमै उपचार हुन सकेन । घटना जेठ १ गते रातिको हो । भुइँमा सुतेकी ओमकुमारी मध्यरात मलाई पेट दुख्यो भन्दै बा–आमा सुतेको कोठाभित्र गइन् । हातमा केहीले टोकेजस्तो अनुभूति भएको सुनाइन् । छोरीको हातमा केहीले टोकेजस्तो दाग देखियो, उनी सुतेको ठाउँमा पुग्दा सर्प भेटियो । 

पीडाले ओमकुमारी छट्पटाइन्, परिवारका सदस्यहरू आत्तिए । केही समयदेखि सत्य वचन भन्ने धर्ममा उनीहरू लागेका रहेछन् । त्यहाँका गुरुहरूले सर्पलगायतले टोकेमा ठीक गरिदिने गरेको पनि श्यामहरूले सुनेका रहेछन्, तुरुन्तै उक्त धर्मका पास्चरलाई सम्पर्क गरे । पास्चर भनिने योगेन्द्रकुमारीले आफू उपस्थित हुन नसक्ने भन्दै फोनबाटै प्रार्थना गरिदिने र ठीक भइहाल्ने बताइन् । सो कुरा भएपछि श्यामबहादुरहरू ढुक्क भए, योगेन्द्रकुमारीले फोनबाटै प्रार्थना गरिदिइन् । प्रार्थनासँगै योगेन्द्रकुमारीले खुर्सानी खुवाउन लगाइन् । खुर्सानी खाएर पिरो लागेको महसुस भएमा सर्पको विष मर्ने र निको हुने बताइएबमोजिम उनीहरूले त्यसै गरे । तर, यता ओमकुमारीको अवस्था भने बिग्रिँदै गयो । बान्ता गर्ने, घाँटी थुनिएजस्तो भएको भन्दै छटपटाउन थालिन् । 

बिहानपख झन् गाह्रो हुँदै गयो । छोरीलाई सञ्चो भइहालेको ठानेर बजार निस्केका श्यामबहादुर घरमा धेरै असहज भएको खबर आएपछि फर्के, त्यतिञ्जेल ओमकुमारीको अवस्था अत्यन्तै नाजुक भइसकेको थियो । अन्ततः गाडीमा भेरी अस्पताल नेपालगञ्ज पुर्‍याए । बिडम्वना, चिकित्सकहरूले उपचार गर्दागर्दै उनको निधन भयो । यसरी अन्धविश्वास र ढोंगका कारण एक अवोध बालिकाको मृत्यु भएको छ । घटनापश्चात् पास्चर योगेन्द्रकुमारी घर्तीले लामो समयदेखि सत्य वचनमा लागेर धेरैलाई निको बनाएको दावीसहित आफूले प्रयास गर्दागर्दै उनको मृत्यु भएको भन्दै माफी मागेकी छन् । ओमकुमारीकी एक दिदी र दुई भाइ छन् । १६ वर्षीय ओमकुमारी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ओरिलालपुरमा कक्षा १० का छात्र थिइन् । घटनापश्चात् प्रहरीले योगेन्द्रकुमारी घर्तीलाई समातेर ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । 


 

टिप्पणीहरू