सक्नेले त लिइछाडे सुविधा

सक्नेले त लिइछाडे सुविधा

सक्नेले केसम्म गर्छन् भने बढुवा भएलगत्तै ठूलै ठाउँ ताक्नेमात्रै हैन, पाएरै छाड्ने । परराष्ट्रको सहसचिवमा बढुवा भएलगत्तै न्युयोर्क मिशनमा दोस्रो हैसियतको जिम्मेवारी पाउने मधेसीमूलका यी बलवान हुन्, कौशलकिशोर राय ।

शुक्रबार रायले बेइजिङको डिसिएमबाट निर्मल काफ्लेले न्युयोर्क र पछि ब्राजिलमा राजदूत पाएजस्तै बाजी मारेका हुन् । न्युयोर्कमा ठाउँ खाली हुनासाथ सहसचिवहरू ताँती लाग्छन् । तर, नजिकैका दुई ठूला छिमेकी देशमा दोस्रो हैसियतका हाकिमको कुर्सी खाली नै छ । बेइजिङमा १९–२० महिनादेखि र भारतमा ९–१० महिनादेखि पद रिक्त भएको हो । चीन र भारत जान किन कसैले रुचि नदेखाएका होलान् ?

अमृत राई न्युयोर्क मिशनबाट असारमा फर्के भने अहिलेका परराष्ट्र सचिव भरत पौडेलको त्यता नियुक्ति हुने सम्भावना पनि उत्तिकै छ । पहिला पनि दुर्गा भट्टराई त्यसरी नै गएका हुन् । कांग्रेसका मन्त्री अनि कौशलकिशोरको त्यही पृष्ठभूमि । राहदानीका महानिर्देशक सुरेन्द्र यादव र एनआरएन हेर्ने रिता धितालहरू पछि पर्नुको कारण शायद राजनीतिक कलर नै होला ।

जापानका लागि राजदूत हुनु ठ्याक्कैअघि दुर्गाबहादुर सुवेदीको पहलमा एयरपोर्टको भिआइपी लाउञ्जमा व्यापारीलाई एक्सेस दिने गरी भएको निर्णय कायमै छ । अवैतनिक महावाणिज्यदूत भएका त्यस्ता व्यापारीले विदेशका झण्डा हल्लाउने र एयरपोर्टको भिआइपी लाउञ्ज प्रयोग गर्ने गरेका छन् ।

उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले पछिल्लो नियुक्ति लिइसकेकी छन् भने सुलभ अग्रवालले थर्मल गनको तस्करी गरेपछि अवैतनिक महाबाणिज्यदूतहरूबाट विदेशी झण्डा हल्लाउने सुविधा खोसिएकोमा डा.नारायण खड्का परराष्ट्रमन्त्री भएपछि त्यो सुविधा पुनः दिइएको छ । परराष्ट्रमन्त्रीमा एनपी साउद आएपछि जोर्डनका कुञ्जविहारी कयाललाई यो सुविधा दिने प्रक्रिया थालिएको छ ।

टिप्पणीहरू