युवतीले ठाउँठाउँमा किन फेरिन् नाम ?

युवतीले ठाउँठाउँमा किन फेरिन् नाम ?

पितृ सत्तात्मक समाजमा युवतीको विवाहसँगै थर परिवर्तन हुनुलाई सामान्य मानिन्छ । तर, बिहे गर्न ठिक्क परेकी युवतीले नामै फेरेर दुई वटा नागरिकताचाहिँ किन बनाउँछन् होला ? विद्यालय तहको शिक्षा सकिएसँगै ०६२ साल कात्तिक ८ गते शारदा निरौलाको नामबाट लिएको पहिलो नागरिकताको प्रयोग गरी बैंक खाता, टेलिफोन, विद्युत्, जागिरमा आवेदन, जमिन, घरलगायतको व्यवस्थापन भएकै थियो । फेरि उनैले ०७३ असार २६ गते सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयबाट श्रद्धा निरौलाको नाममा अर्को नागरिकता लिइन् ।

अहिले पनि जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँटमा हेर्दा उनले नाम परिवर्तन गरी दुईवटा नागरिकता लिएको विवरण छरपष्ट देखिन्छ । शैक्षिक प्रमाणपत्र नेपालीमा लेखिने नाम शारदा निरौलाबाटै बनेका छन् । विद्यालयमा शिक्षकले र गाउँमा सबैले शारदा निरौला भनेरै चिन्छन् । तर, काठमाडाैँमा आफूलाई श्रद्धा निरौलाको नामबाट चिनाउन थालेको धेरै भइसकेको छ । 

गाउँतिरका र पुराना साथीभाइ, आफन्तले शारदाको नामबाट चिन्ने, नयाँ साथीभाइ र नयाँ सम्बन्धमा आउन चाहनेहरूले श्रद्धा भनेर चिन्ने उनलाई सामाजिक सञ्जालमा भने आस्था निरौलाको नामले चिन्नुपर्छ । यसबाट प्रष्ट हुन्छ कि उनी तीनवटा राम्रा नामकी धनी हुन् । सोलुबाट अध्ययनका लागि राजधानी आएकी उनी नामले मात्र होइन, राजधानीमै राम्रो खर्चिएर बनाइएको घर, गाउँमै पनि मातापिताका लागि राम्रो घर बनाइदिएको र तराईतिर घडेरीको समेत जोहो गरिसकेको सफल महिला उद्यमीका रूपमा चिनिन्छिन् ।

तीनवटा नामबाट चिनिन रुचाउने यी शारदा, श्रद्धा र आस्था निरौलाको स्थायी ठेगाना सोलुखुम्बु जिल्ला, नेचासल्यान गाविस वडा नम्बर १ छ । हुनत उनले प्रचलित कानुन, ऐनको उल्लंघन गरेको भनी गृह मन्त्रालयमै पनि उजुरी परेको छ । गृह मन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाले सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयलाई आवश्यक छानबिन तथा कारबाहीका सम्बन्धमा भनी पत्र पनि पठाइसकेको छ । शाखा अधिकृत देवर्षि सापकोटाले हस्ताक्षर गरेको सो पत्रमा आवश्यक कारबाही गरी मन्त्रालयमा जानकारी गराउन भनिएको छ ।
 

टिप्पणीहरू