डाँडा मासेर कार्यालय सार्ने दाउ

डाँडा मासेर कार्यालय सार्ने दाउ

ललितपुरको महांकाल गाउँपालिकाका प्रमुख गणेश केसीले रातिराति स्टाटस लेख्दै आफ्नै पार्टीका संघ र प्रदेश मन्त्रीहरूप्रति आक्रोश पोखेका छन् । गठबन्धनबाट चुनाव जितेका उनले कार्यपालिकामा आफ्नो सुदृढ बहुमत भएको दम्भ देखाएर उपप्रमुखलाई कर्नरमा पारेको र स्थानीय स्तरमा गठबन्धनका दलहरूलाई समन्वय नगरेको गुनासो भइरहेको झाेंकमा मुख्यमन्त्री शालिकराम जमकट्टेलको नजरमा महांकाल पछाडि नै पर्‍याे । अझ गाउँपालिका अध्यक्ष केसीको प्रस्ताव डाँडा भासेर प्लटिङ गर्ने र प्लटिङको जग्गा किनाएर गाउँपालिकाको कार्यालय राख्ने योजना सुन्दै मुसुमुसु हाँसेर हस् भनेका मन्त्रीहरूले उनले माग गरेको शीर्षकमा रकम राखिदिएनन् । अझ केसीले खानपानमा संगत मिल्नेहरूको टोली लिएर मुख्यमन्त्री तथा प्रदेश कार्यालय गएकोमा नेकपा माओवादी केन्द्रका केही नेताहरूले चर्को असन्तुष्टि नै जनाएका थिए । 

यस्तै वागमती र कोन्ज्योसोम गाउँपालिकाका जनप्रतिनिधिहरूले पनि प्रदेश र संघीय सरकारको बजेटमा ललितपुरको दक्षिणी भेगलाई गरिएको उपेक्षाप्रति असन्तुष्टि जनाएका छन् । कोन्ज्योसोममा अध्यक्ष नेकपा एमालेले जितेको भए पनि उपाध्यक्ष नेपाली कांग्रेसको भएकाले राजनीतिक प्रतिस्पर्धाका आधारमा सत्तारुढ दलप्रति लक्ष्य गर्दै दोषारोपणका ओइरो आएका छन् । एमालेबाट अध्यक्ष जितेका कृष्णमान लामाले त बजेट विनियोजन र कार्यान्वयनले संघीयताको स्वरुप र शैलीमै प्रश्न उठाएको भन्दै आक्रोश पोखेका छन् । 

हरेक वर्षजस्तै असारमा फाइल अड्काएर अख्तियारको निशानामा पर्नेदेखि रंगेहात पक्रिनेसम्म अवस्था झेलेका गोदावरी, महालक्ष्मी र ललितपुर महानगरपालिकाको लेखा शाखाबाहिर पीडितको लाइन लामै हुने गरेको गुनासो छ । सेटिङका कामको पत्र दर्तादेखि, सम्झौता र भुक्तानीसम्म एकै महिनामा सकिने तर प्रक्रियासम्मत ढंगले भएका कामको अनेकन बहानामा भुक्तानी रोकेर रकम बार्गेनिङ हुने गरेका गुनासा फेरि पनि सुनिन थालेको छ । जेठ दोस्रो साताबाट फाइल थन्किने र कर्मचारी रन्किने रोगबाट मुक्ति कहिले मिल्छ भन्दै सेवाग्राहीले जनप्रतिनिधिसँग आक्रोश पोख्ने क्रम झन् बढेको छ । 
 

टिप्पणीहरू