कमरेडले किन खोजे हतियार ?

कमरेडले किन खोजे हतियार ?

‘हतियार चाहियो’ भन्दै काठमाडौँ जिल्ला प्रशासन कार्यालय धाएका एकजना पूर्वमन्त्रीलाई ‘मिल्दैन’ भनी फिर्ता पठाइएको छ । पर्यटनमन्त्री भइसकेका भोजपुरे पूर्व एमाले कर्मचारी नेता कृपाशुर शेर्पा हुन्, हतियार किन्नका लागि सिफारिस माग्दै जिल्ला प्रशासन धाउने ।

उनले बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयसँग हतियार खरिदका लागि गृहलाई सिफारिस गरिदिन माग गरेका थिए । तर, नयाँ हतियार खरिदको सिफारिस गर्नुअघि सोको विश्वसनीय कारण र आधार पेश गर्नुपर्ने हुन्छ । कृपाशुरले त्यस्तो केही पेश नगर्दा कर्मचारीहरुले सोधे, ‘किन चाहियो मन्त्रीज्यू ?’ उनले भने, ‘मलाई थ्रेट भयो ।’

तर, कहाँ, कसरी र कोबाट असुरक्षा भयो भन्ने कुराचाहिँ खुलाउन सकेनन् । बरु, पूर्वमन्त्रीका हकमा ज्यानमाथि असुरक्षा त के छिसिक्क आशंका मात्रै भए पनि सरकारले सुरक्षाकर्मी (पिएसओ) खटाउने व्यवस्था छ । मन्त्री नै नभएका सांसद अमरेशकुमार सिंहसँग पिएसओ हुँदा कृपाशुरले नपाउने कुरा हुँदैन । तर, उनले आफ्नो सुरक्षा आफैं गर्नका निम्ति आफैंले चलाउने गरी हतियार माग गरेका हुन् । 

उनले त्यसरी हतियारको लाइसेन्स माग्नुका पछाडि केही कारण हुनसक्ने गृहका एक अधिकृत बताउँछन् । ‘योसँग हतियार छ भनेपछि थ्रेट गर्ने व्यक्ति वा समूह डराउँछन् भनेर लिन खोजियो होला’, उनले भने ‘कि त, सस्तोमा हतियार किन्ने र महंगोमा बेच्नका लागि पनि यसो गरिएको हुन सक्छ ।’ ती अधिकृत दावी गर्छन्, कृपाशुरले सस्तोमा हतियार किन्दै बढी मूल्यमा बेच्ने र बेचेपछि नामसारि गरिदिने प्रयोजनका लागि सिफारिस माग गरेको हुनुपर्छ । 

यसबीच, तराईका जिल्लाहरु ‘फिजीकरण हुने’ होहल्ला गरिए पनि काठमाडौंसहितका पहाडी जिल्लामा समेत बाबु वा आमाको जन्मका आधारमा नागरिकता माग्ने युवायुवतीको संख्या बढेको छ । सर्वोच्चबाट नागरिकता वितरणको बाटो खुल्दा आइतबार काठमाडौंमा मात्रै २५–२६ जनाले निवेदन दिएका छन् । त्यहाँबाट प्राप्त विवरणमा काठमाडौंमा जन्मका आधारमा नागरिकता लिनेको संख्या २ सय हाराहारी मात्रै भेटिएको छ । 
 

टिप्पणीहरू