कर्णेलविरुद्धको मुद्दामा फाइल झिकाउने आदेश

कर्णेलविरुद्धको मुद्दामा फाइल झिकाउने आदेश

सेनाभित्रको अनियमिततामा मुछिएका पूर्वउपरथी प्रेम शाहीलाई सघाएको भन्दै तीन जना कर्णेलमाथि गरिएको कारबाही प्रकरणमा सैनिक अदालतले जंगी अड्डाबाट निर्णय फाइल झिकाएको छ । फाइल आएपछि अर्को साता सुनुवाइ हुने भएको छ । 

यस प्रकरणमा जंगी अड्डा आफ्नै निर्णय चित्त नबुझेको भन्दै पुनरावेदन लिएर सैनिक अदालत पुगेको हो । यता, आरोपित सैनिकले पनि सोही अदालतमा पुनरावेदन गरेका छन् । सैनिक ऐन, ०६३ विपरीत अनुशासन उल्लंघन गरेको आरोपमा महासेनानी डा.महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई कोर्टमार्शलले विभागीय कारबाही गरेपछि विवाद सैनिक अदालतको क्षेत्राधिकारभित्र पुगेको हो । कर्णेल साम्ब अर्याललाई भने कोर्ट अफ इन्क्वायरीले ‘सचेत’ गराउने सिफारिस बुझाएको छ । 

जंगी अड्डा र आरोपितको दोहोरो पुनरावेदनउपर सुनुवाइ गर्दै गत बिहीवार अदालतले निर्णय फाइल पेश गर्न आदेश दिएको हो । ‘विभागीय कारवाही’ र ‘सचेत’ ले मात्रै नपुग्ने दाबी जंगी अड्डाको छ भने निर्दोष व्यक्तिलाई कारवाही गरेको जिकिर कारवाहीमा परेका अफिसरहरुको छ । 

डा. शाह र तिम्सिनालाई कोर्ट मार्शलबाट दुई–दुई वर्ष प्रमोसन रोक्ने गरी भएको विभागीय कारबाही तथा हाल युएन मिशनमा रहेका कर्णेल साम्ब अर्याललाई कोर्ट अर्फ इन्क्वायरीले ‘सैनिक विद्रोह’को कसुरमा गराएको सचेतको कारवाही चित्त नबुझेको बताउँदै जंगी अड्डाले सैनिक अदालतमा अर्को मुद्दा दर्ता गरेको हो । 
 

टिप्पणीहरू