गोरु रोकेको ठीक, सिपाही कुटेको बेठिक

गोरु रोकेको ठीक, सिपाही कुटेको बेठिक

ड्युटीमा खटिएका सिपाही र हवल्दारलाई पानीमा चोपल्दै चुटेका सशस्त्र प्रहरी बल, नेपालका इन्स्पेक्टर नवप्रभात राई एक थोकमा ठीक, अर्को थोकमा गलत ठहर भएका छन् । रातको समय ड्युटीमा रहेका सशस्त्र प्रहरीले गोरु तस्करी गराएको भनी खोलामा चोपल्दै बाँसको भाटाले हिर्काउने राईका सही र गलत कदमको एआइजी चन्द्रप्रकाश गौतम नेतृत्वको अनुसन्धान टोलीले रौंचिरा केलाएको हो । 

जेठ ३० गते दिउँसो राईसहितको टोली घुमुवाको रुपमा सूचना संकलन गर्न झापा पुगेको थियो । बराह बाहिनी सुनसरीबाट खटिएका राईसँग जवान रामसुन्दर तामाङ र जीवन बाँस्तोला पनि थिए । दिनभर मादक पदार्थ सेवन गरेका उनीहरूले राति त्यसकै बल प्रदर्शन गरेको आरोप छ ।

उनीहरूले ड्युटीमा खटिएका झापाको सीमामा तैनाथ बिओपीका केही बर्दीधारीलाई मरणासन्न हुने गरी पानीमा चोपल्दै बाँसको भाटाले हिर्काएको र कुटाइ खाएर शिथिल  भएका घाइतेलाई स्थानीय बासिन्दाले बचाएको प्रारम्भिक समाचार थियो । जंगली हात्ती कुर्न बसेका स्थानीय सादा पोशाकका अपरिचित व्यक्तिले बर्दीधारीलाई रामधुलाई हुनेगरी पिटिरहेको देखेपछि बचाउमा उत्रिएका थिए ।

घटनापछि पक्राउ परेका तीन जनामाथि झापास्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गणले अनुसन्धान अघि बढाएको थियो । बराह बाहिनीले पनि एसपी विक्रम हुमागाईंको नेतृत्वमा पाँच सदस्यीय छानबिन कमिटी गठन गरेकै हो । त्यस्तै, एआइजी गौतमको नेतृत्वमा मुख्यालय, हल्चोकबाट छुट्टै छानबिन टोलीसमेत बनाइएको थियो । जसमा डिआइजी कुलबहादुर नेम्वाङ र एसपी छवि पाण्डे सदस्य थिए । 

सोही कार्यदलको प्रारम्भिक अनुसन्धान र छानबिन रिपोर्ट नआउँदै इन्स्पेक्टर राईलाई निलम्बन गरिसकिएको छ । उदयपुरका इन्स्पेक्टर राई भिआइपीहरुको भतिज नातामा पर्छन् । सिमानामा बसिसकेका इन्स्पेक्टरले सिपाहीहरूलाई कुटेर गलत गरेको ठहर भएसँगै उनलाई जोगाउनका लागि उच्च पदस्थहरूको टोली नै लागिपरेको छ । उक्त नाकाबाट दिनहुँजसो गोरु तस्करी हुँदै आएको बताइन्छ । स्रोतका अनुसार अघिल्लो दिन ३०–३५ वटा गोरु तस्करी भइसकेको थियो भने त्यस दिन पनि राईको टोलीले तीन वटा गोरु समातेको थियो । 

नियमित गोरु तस्करी हुने गरेको भनी उनीहरूले प्राप्त गरेको सूचना पनि सही भएको बताउँदै स्रोतले थप्यो, ‘त्यो नाकाबाट निरन्तर तस्करी भइराख्ने रहेछ । यिनीहरू पुग्नुअगाडि नै त्यहाँ एक हुल गोरु तस्करी गराइसकेका रहेछन् । टोलीले रोक भन्दाभन्दै पनि गोरु तस्करी गराएका रहेछन् । त्यसपछि रिसको झोंकमा आएर कुटेछन् । तस्करी गरेकालाई कारबाही गर्ने अन्य विकल्प पनि थियो । त्यसरी कुट्नुचाहिँ हुँदैनथ्यो ।’

इन्स्पेक्टर राई एकदमै रिसाहा प्रवृत्तिको भएको बताइन्छ । सबैसँग निहुँ खोज्दै हिँड्ने भएकाले उनलाई कसैले मन पराउँदैनन् । आमनागरिकमाथि समेत जाइलाग्ने उनले कार्यस्थलमा ड्युटीमा खटिएका सिपाहीलाई कुट्नु गलत भएको भन्दै चर्को आलोचना भइरहेको छ । 

डिआइजी विदुर घर जाँदै, तीन जना लाइनमा 

विन्ध्यवासिनी बाहिनी लुम्बिनीका डिआइजी एवं पूर्व सशस्त्र प्रहरी प्रवक्ता विदुर खड्काले छिट्टै नै अवकाश पाउने भएका छन् । भदौ १ गते उनी घर जाने भएसँगै अन्य तीन जना उनको ठाउँ लिन लाइन लागेका छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनीबाट हेडक्वार्टर आएका कमल गिरी, नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीबाट आएका गणेशबहादुर ठाडा र नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीको जिम्मेवारी सम्हालिसकेका शम्भु सुवेदी लुम्बिनी जान तम्तयार छन् ।
 

टिप्पणीहरू