त्यो जनयुद्ध र यो भ्रष्टाचार

त्यो जनयुद्ध र यो भ्रष्टाचार

– जानुका धमला

जनयुद्धताका पनि यदाकदा साना रकम भ्रष्टाचार भएको समीक्षा बैठकहरूमा सुनिन्थ्यो । भ्रष्टाचार तथा कुनै कसुर प्रमाणित भएमा श्रम शिविरमा पठाइन्थ्यो । नियम, अनुशासन कडा थियो । मर्न हिँडेको मान्छेलाई किन चाहियो निजी सम्पत्ति ? लहानको बंैक कब्जापछि ४ दिन ४ रात पैसाको भारी बोकेर हिँड्दा नै थाहा भएको हो बजारमा किन्ने सामान नहुँदा पैसाको मात्रै केही महत्व हुँदैन भनेर ।

महिनामा मसलन्दबापत दिइने १५० रूपैयाँ पनि कहिलेकाहीँ सकिएको हुँदैनथ्यो हामीसँग । लगाउने कपडा पार्टीले किनिदिएको हुन्थ्यो । खान जनताले दिन्थे । खर्च चाहिने भनेको साबुन, ब्रस, मञ्जन र भित्री वस्त्रका लागि मात्रै थियो । त्यो पनि कहिलेकाहीँ बढी भएर पार्टीलाई नै फिर्ता दिने गरेका थियौँ । सामूहिक जीवन, सामूहिक खानपान, सामूहिक बसाइ, एक प्रकार समाजवादको अनुभूति हुने गथ्र्यो जनयुद्धमा । यहाँ जात, धर्म, भाषा, संस्कार, संस्कृति वा कसैको बारेमा टिप्पणी हँुदैनथ्यो । अहिलेको समाजभन्दा मैले युद्धमा भोगेको समाज निकै उत्कृष्ट र चेतनशील र परिवर्तनशील थियो । 

रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीले आफ्नो स्वार्थका लागि कित्ता नै परिवर्तन गर्नुको कारण नीतिगत भ्रष्टाचार गर्दा पनि कारवाही हुँदैन भन्ने सोच पो रहेछ । आफ्नो देशको नागरिकलाई अनागरिक बनाएर अमेरिका पठाउने र अर्बौंको मालिक बन्ने सपना देखेका टोपबहादुर, बालकृष्णहरू अनि आयल निगमको भ्रष्टाचार र ललिता निवास काण्डको छानबिन प्रक्रिया शुरु हुनु, भ्रष्टाचारी जेल चलान हुनुले पनि जनतामा केही आशा पलाएको छ । जबसम्म भ्रष्टाचार मौलाउँछ, तबसम्म देश विकासको सम्भावना न्यून हुन्छ । भ्रष्टाचारीको फाइल खोल्ने प्रसंगमा प्रचण्ड एक कदम अगाडि छन् । कसैले गर्न नचाहेको कामको शुरुवात गर्नु एक कदम अगाडि हुनु हो ।

प्रचण्ड आजकल बल्ल प्रचण्डजस्तो देखिएका छन् । जस्तोसुकै चुनौती सामना गर्न तयार हुने प्रचण्ड पछिल्लो दुई दशक संसदीय व्यवस्थामै अल्मलिएजस्तो आभाष भएको थियो । अहिले तेस्रो पटक प्रधानमन्त्री बनेपछि भने फेरि एकपटक जुर्मुराएका छन् । भ्रष्टाचारजस्तो गम्भीर र संवेदनशील विषयमा प्रवेश गरेर जनतालाई सुशासनको अनुभूति दिलाउन कोसिस गरिरहेका छन् । यसको अर्थ यो पनि हो– प्रचण्ड आफ्नो खुट्टामा आफैंले बञ्चरो पनि प्रहार गरिरहेका छन् । यो उनलाई चुनौती मात्रै होइन महाचुनौती हो । प्रचण्ड यदि सरकारको नेतृत्वबाट बाहिर निस्कँदा भोलि आफूमाथि लाग्ने उस्तै प्रकारका मुद्दाको समेत पर्वाह नगरी भ्रष्टाचारविरुद्धको गतिविधिमा लागिपरेका छन् । उनको कदमलाई गृहमन्त्री नाराणकाजी श्रेण्ठले साथ र एकबद्धता जाहेर गरेर अगाडि बढेका छन् ।

भ्रष्टाचार दुर्गन्ध हो, जसलाई जो कसैले पनि सधैँ लुकाएर राख्न सक्दैन । विकृति, विसंगति, भ्रष्टाचार, बेथिति र विद्यमान राज्यसत्ताविरुद्ध माओवादी पार्टीले प्रचण्डको नेतृत्वमा ०५२ सालमा जनयुद्ध शुरू ग¥यो । के यसको परिाणम ३ दशकपछि तिनै प्रचण्डको नेतृत्वमा जनताले अनुभूति गर्न पाउँछन् त ? यो आजको यक्षप्रश्न हो । सबैभन्दा बढी देश र राज्यको ढुकुटी रित्याउने भ्रष्टहरूको फाइल खोलेर कारबाही अगाडि बढाउनु सकारात्मक संकेत पक्का हो । प्रचण्डलाई क्यान्टोनमेन्टको हिनामिनाभन्दा अर्काे कुनै भ्रष्टाचारको आरोप लागेको छैन । क्यान्टोनमेन्ट अनमिनसँग जोडिएको विषय हो ।

निराशाका बादल पक्कै फाटेको छ । यातायात कार्यालयमा घटेका भीड, राहदानी कार्यालयअगाडि मध्यरातदेखिको लाइनको अन्त्य, विद्यार्थीका हात हातमा समयमै पुस्तक, रासायनिक मलबारे राज्यबाट पहलकदमी शुरु हुनु सकारात्मक छ । भ्रष्टाचारी धमाधम जेलचलान हुनु, लोडसेडिङ अन्त्यसँगै विद्युतीय उपकरणमा उपयोगका लागि राज्यको नीति बनेको खण्डमा देशलाई आत्मनिर्भरताको बाटोमा अगाडि बढाउन पक्कै मद्दत पुग्नेछ । गरिब निमुखाहरूका लागि हस्पिटलको बेड थपिने कुराले पनि जनतामा उत्साह थपिएको छ ।
 

टिप्पणीहरू