डाङडुङे डाँडाबाटै उँधो लागेको दिन

डाङडुङे डाँडाबाटै उँधो लागेको दिन

बिना अध्ययनको योजना र कमिशनको खेलमा बजेट छुट्ट्याइँदा १२ वर्र्षदेखि दोलखाको डाङडुङे डाँडामा फिल्म स्टुडियो बनाउने योजना अर्काे मेलम्ची परियोजना बन्दै आएको थियो । शिलान्यास भएको योजना अलपत्र छँदै थियो फेरि शुरु भएको छ, काभ्रेमा इण्डोर फिल्म स्टुडियो निर्माण प्रक्रिया ।

यसअघि चलचित्र विकास बोर्डले पोखरामा फिल्म सिटी बनाउने घोषणा गरे पनि त्यसलाई लत्याएर दोलखामा जग्गा अधिग्रहणको काम अघि बढाउँदा उक्त फिल्म स्टुडियो अझसम्म अलपत्र परेको छ । मदनदास श्रेष्ठबाहेक अरुले बन्छ भनेर विश्वास गर्न छाडेको दोलखाको स्टुडियोमा १६ अर्ब लागत लाग्ने बताइएको छ । बोर्डका अधिकारीहरू चलचित्र विकास बोर्ड र नेपाल सरकारको बजेटबाट दोलखामा फिल्म सिटी निर्माण सम्भव छैन भन्दै छन् । यद्यपि, प्रत्येक वर्षझैँ आगामी आर्थिक वर्र्षका निम्ति पनि करोडौं बजेट छुट्ट्याइएको छ ।

यसरी एउटा फिल्म स्टुडियो अलपत्र परिरहेको बेला चलचित्र विकास बोर्डले बनेपाको झण्डै ६० रोपनी जग्गामा इण्डोर सुटिङ स्टुडियो निर्माण प्रक्रिया अगाडि बढाएको बुझिएको छ । जग्गा प्राप्तिको फाइल वन मन्त्रालयबाट उठिसकेको र यही हप्ताभित्र क्याबिनेटमा पेश हुने अधिकारीहरू बताउँछन् । झण्डै २० करोड लागतमा त्यहाँ फिल्म स्टुडियो निर्माण गर्न खोजिएको हो । आगामी आर्थिक वर्र्ष त्यसनिम्ति डेढ करोड खर्चने योजना छ । दोलखा र बनेपामा गरी फिल्म सिटी र स्टुडियो निर्माणका लागि बोर्डको बजेट हात्तीको मुखमा जिराजस्तै हुने देखिन्छ ।

बोर्डका निम्ति झण्डै १८ करोड बजेट छुट्ट्याइएको छ । जसको एक तिहाइ बजेट कर्मचारीको तलब भत्तामै जान्छ तर यी दुई वटा महत्वाकांक्षी योजनाले १÷२ करोड पनि नपाउने देखिँदै छ । वार्षिक १ करोड बजेट छुट्ट्याएर कति वर्र्षमा बन्ला फिल्म स्टुडियो ? यसका अलावा दयाराम दाहाल विकास बोर्डको अध्यक्ष हुँदा सुनसरीको बराह क्षेत्रमा समेत फिल्म स्टुडियो निर्माण प्रक्रिया अगाडि बढाउन खोजेका थिए । वार्षिक झण्डै २० करोड राजश्वमा योगदान दिँदै आएको चलचित्र क्षेत्रलाई सरकारले १८ करोड हाराहारी बजेट छुट्ट्याएको छ, आगामी आर्थिक वर्र्षका लागि ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ८ अर्ब ७२ करोड बजेट विनियोजन भएकोमा ४ करोड ४५ लाख मध्येबाट प्राप्त भएको हो । बाँकी १३ करोड ५० लाख ४० आन्तरिक स्रोतबाट जुटाउनुपर्ने छ । बजेटमध्ये विकास बोर्डका ३० कर्मचारीको तलब–भत्तामै तीन करोड ५० लाख खपत हुने गरेको छ । फिल्मका नाममा माग्न आउने अन्य संघसंस्थाको मुख पनि टाल्नै प¥यो । चलचित्र विकास बोर्डले अवार्ड बाँड्ने कार्यक्रम छुटाउनु भएन । यी सबै ठाउँको भ्वाङ टालिसकेर दोलखामा फिल्म सिटी र बनेपामा स्टुडियोका लागि बजेट छुट्ट्याइने हो ।

नेपाली फिल्मले ६० वर्ष लामो यात्रा तय गरेपछि नेपाली फिल्म क्षेत्रलाई उद्योगको रूपमा विकास गर्ने हो भने अत्याधुनिक फिल्म स्टुडियो र फिल्म सिटी बन्न जरुरी रहेको सिनेकर्मीहरू बताउँछन् तर एउटै स्टुडियो पनि जीर्ण अवस्थामा पुगिसकेका बेला कमिशनको चक्करमा परेर अर्काे स्टुडियो निर्माण प्रक्रिया अगाडि बढाइएकोप्रति कतिपय सिनेकर्मीले आपत्ति जनाउन थालेका छन् । 
 

टिप्पणीहरू