घर गएका सैनिक बाटैमा बेपत्ता

घर गएका सैनिक बाटैमा बेपत्ता

नेपाली सेनाले घर बिदा मागेर बेपत्ता भएका सैनिकहरूको खोजी गर्न थालेको छ । बिदामा गएका सैनिक हाजिर हुन नआएपछि सेनाले खोजी कार्य अगाडि बढाएको हो । गत जेठदेखि विभिन्न मितिमा फरार रहेका सैनिकलाई भेटेमा पक्रन सम्बन्धित गणको सेनाले प्रहरीलाई गुहारेको छ ।

व्यक्तिगत समस्या देखाएर पाँच दिनका लागि छुट्टीमा बसेका कृष्णनन्दन यादव गत जेठ ३१ गतेदेखि बेपत्ता छन् । रौतहटको माधवनारायण नगरपालिका–१, माधवपुर बस्ने सुखल राय यादवका नाति एवं जोगिन्द्र राय यादवका छोरा उनी नफर्किएपछि धुइँपत्ताल लगाएर खोज्न थालिएको छ । 

नं.७ बाहिनी अड्डा चनवन ब्यारेक, मकवानपुरमा कार्यरत उनी असार ३ गते दिउँसो ४ बजे हाजिर हुनुपर्ने थियो । ब्याच नम्बर २८२६६२ भएका उनी आफूखुशी भागेपछि सेनानी विश्व कार्कीले सम्पूर्ण युनिटलाई परिपत्र गर्दै कहीँ–कतै फेला परेमा पक्राउ गरी जानकारी गराउन अनुरोध गरेका छन् । त्यसैगरी, अर्का लापत्ता भएका सैनिक हुन्, विशाल बुढा । रुकुम पूर्वको भुमे गाउँपालिका–६, का उनी सिंहबहादुर बुढाका नाति तथा राजकुमार बुढाका छोरा हुन् । कीर्तिदल गण, योगीकुटी ब्यारेक, बुटवलमा कार्यरत उनी गत जेठ २२ गतेदेखि बिदामा थिए । ब्याच नम्बर ३०८८८७ भएका उनी असार १४ गते फर्किनुपर्ने थियो । 

तर, उनी बिना जानकारी कार्यालयमा हाजिर हुन नआएपछि सेनानी शशी खड्काले सबै युनिटलाई खोजी गरी उपस्थित गराउन भन्दै परिपत्र गरेका छन् । यता, नं.१ विपद व्यवस्थापन गण, सुन्दरीजलमा कार्यरत ब्याच नम्बर ३०७५०८ भएका सिपाही अशोकबहादुर देउवा पनि भागेका छन् । सुर्खेतको पञ्चपुरी नगरपालिका–७, पैसरा बस्ने धनिराम देउवाका नाति तथा रामबहादुर देउवाका छोरा उनी असार १ गते गणबाट निस्किएका थिए । १५ दिन बिदामा बसेका उनी असार १५ गते हाजिर हुनुपर्ने थियो । तर, उनी कार्यालयमा हाजिर हुन नआएको सेनानी रोशन टण्डनले बताए । उनले प्रहरीलाई पत्राचार गर्दै सिपाही देउवा कहीँ–कतै फेला परेमा पक्राउ गरी जानकारी गराउन भनेका छन् ।

टिप्पणीहरू