क्रिश्चियनका हकमा बालेन कोमल

क्रिश्चियनका हकमा बालेन कोमल

भारतीय चलचित्र प्रदर्शनमा बन्देज लगाएर साँस्कृतिक राष्ट्रवाद देखाएका काठमाडौँका मेयर बालेन्द्र (बालेन) साहको इसाई धर्मप्रति भने अतिरिक्त मोह देखिएको छ । इसाई धार्मिक संस्थालाई सम्पत्ति कर छुट दिने नाममा उनको क्रिश्चियन धर्मप्रतिको मोह कार्यपालिका बैठकमा पोखिएको हो । 

धर्मनिरपेक्षताका कारण देशमा इसाइकरण भएको दावी गर्ने गणतन्त्रविरोधी र पश्चिमा राष्ट्रहरूसँग निकट भनिएका बालेनले क्रिश्चियन धर्म प्रचारलाई बढावा दिने गरी गत सोमबारको कार्यपालिका बैठकमा कर छुटको प्रस्ताव लगेका थिए । काठमाडौँस्थित इसाई धार्मिक संस्था यहोवा समाजलाई घरजग्गाको सम्पत्ति कर छुटको प्रस्तावमा वडाध्यक्षहरू सहमत नहुँदा त्यसदिन पारित हुन भने सकेन । 

यहोवा समाज इसाई धर्म प्रचार गर्ने विश्वव्यापी संस्था हो । विश्वका २३९ देशमा यसका शाखा कार्यालय छन् । यो संस्थाले निःशुल्क बाइबल बाँड्नेदेखि विभिन्न सामाजिक कार्यका नाममा इसाई धर्मको प्रचार–प्रसार गर्ने गर्छ । शाखाले गरेका धार्मिक गतिविधिवारे २४० वटा मुलुकमा रिपोर्ट गरिन्छ । काठमाडौँ महानगरको वडा नं ३, १३, १४ र १५ मा यो संस्थाको स्वामित्वमा घरजग्गा छ । सोही घरजग्गाको सम्पत्ति कर छुटका लागि मेयरले कार्यपालिकामा प्रस्ताव पेश गरेका हुन् । 

शुरुमा सो प्रस्तावको विपक्षमा ८ नम्बरका वडाध्यक्ष आशामान संगतले धारणा राखेपछि नेपाली कांग्रेसबाट निर्वाचित सबै वडाध्यक्षले असहमति जनाएका थिए । वडा नं २३ का मचाराजा महर्जनले धार्मिक संस्थालाई कर छुट दिन छुट्टै कार्यविधि बनाएर जानुपर्ने सुझाव दिए । एमालेबाट जितेका वडाध्यक्ष महर्जन विधायन समितिका संयोजक पनि हुन् ।

‘आज इसाई धर्म मान्नेलाई ९५% कर छुट दिउँला, भोलि हिन्दू, इस्लाम, जैन, मुस्लिम, बौद्ध धर्म मान्नेले त्यही नजिर तेस्र्याउँदै भटाभट माफी मिनाहा माग्न आए भने के गर्ने नि !’ वडाध्यक्षहरू यसरी प्रतिवादमा उत्रन थालेपछि त्यसदिन उक्त प्रस्ताव त्यत्तिकै तुहिन पुगेको हो ।

टिप्पणीहरू