भूपू हुनासाथ पार्टीसँग मन भरंग

भूपू हुनासाथ पार्टीसँग मन भरंग

मान्छेको जातै बैगुनी, त्यसमाथि कर्मचारीको कुरा ! जागिर हुञ्जेल अवसर र लाभका लागि पार्टीको सदस्यता नवीकरण गरे । जागिर सकियो, सदस्यताको मतलब छैन । 

विभिन्न सरकारी तथा अर्धसरकारी सेवाबाट अवकाश पाएका एमालेसम्बद्ध कर्मचारीले यस्तो व्यवहार देखाएपछि केन्द्रद्वारा जारी अन्तर पार्टी निर्देशन (अपानि) मै लेखियो, ‘पेशागत जिल्ला कमिटीले काम गरेन...!’ त्यो त्यही जिल्ला कमिटी हो, जहाँ अर्धभूमिगत शैलीको सांगठानिक संरचना हुन्छ । त्यसअन्तर्गत सरकारी तथा गैरसरकारी सेवामा लागेका व्यक्तिहरू सदस्य हुन्छन् ।

कतिपयले सदस्यता गोप्य राख्छन्, कतिपयले खुलेआम आबद्धता स्विकारेका हुन्छन् । पार्टी सदस्यता नवीकरणको स्थितिलाई हेर्दा सबभन्दा निराशलाग्दो अवस्थामा रहेको पेशागत जिल्ला कमिटीमा पुराना ५० प्रतिशत सदस्यले नवीकरण गरेनन् । कुरा बुझ्दै जाँदा निजामति सेवाका करिव १५ सय कर्मचारीले जागिरबाट अवकाश पाएका रहेछन् । जागिर हुँदा पार्टीको कोटामा आकर्षक ठाउँमा सरुवा, सुविधा र लाभ पाइने हुँदा उनीहरू सक्रियतापूर्वक सदस्यता नवीकरण गर्थे । तर, जागिर सकिएपछि न सरुवा चाहियो, न सुविधा र लाभ नै पाइन्छ । त्यसैले ‘भोट हाल्न परे हालम्ला, सदस्यता त्यतै राख्नुस्’ भन्दै ती कर्मचारी नवीकरणका लागि अटेर गरिरहेका छन् । 

एमालेको सदस्यता नवीकरण नगर्नेमध्ये एक जना हुन्, पूर्वगृहसचिव, लोकसेवाका पूर्वसदस्य डा.गोविन्दप्रसाद कुसुम । उनको पछिल्लो जिम्मेवारी लोकसेवा थियो, जहाँबाट उनी जिम्मेवारीमुक्त भएको वर्षौं बितिसक्यो । २०७७ सालसम्म उनले सदस्यता नवीकरण गरे । तर, त्यसयता पार्टी विभाजनपछि तटस्थ छन् । उमेरका कारण पनि उनले राजदूत वा कुनै लाभको पद पाउने सम्भावना छैन ।

पार्टी विभाजनमा ओलीलाई दोषी देखेको, तर माधव नेपालतिर पनि नखुलेका उनी लेख्ने र पढ्ने काममा व्यस्त छन् । अर्का हुन्, सामान्य प्रशासन सचिवका रुपमा जागिरबाट अवकाश पाएपछि पार्टीले प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा नियुक्ति दिएका पुण्यप्रसाद न्यौपाने । अहिले उनी जर्मनतिर घुमिरहेका छन् ।

उनले पनि अब उमेरहदका कारण अन्य सुविधा वा लाभ पाउने सम्भावना छैन । अहिले स्टाफ कलेजमा रहेका पूर्वसचिव राजन खनाल पनि सदस्यता नवीकरण नगर्नेमध्येका हुन् । यीसहित थुप्रै कर्मचारीले जागिर सकिएसँगै सदस्यता ‘सिध्याइरहेका’ छन् । यसरी सदस्यता नवीकरण गर्नेमा निजामति कर्मचारीमात्र नभई प्राध्यापक, कानुन व्यवसायी, चिकित्सक, शिक्षकहरूको संख्या उत्तिकै पाइन्छ ।
 

टिप्पणीहरू