कसरी बढे गोरखामा कम्युनिष्ट ?

कसरी बढे गोरखामा कम्युनिष्ट ?

गोरखामा कम्युनिष्ट पार्टी संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठ स्वयं आएर गठन गरेका हुन् । तिनताका तनहुँको बन्दीपुरमा कम्युनिष्ट पार्टी व्यवस्थित थियो । पार्टी कामको सिलसिलामा पुष्पलाल श्रेष्ठ बन्दीपुर आउजाउ गरिरहन्थे । गोरखा विरेन्चोकका कमरेड बलबहादुर राना र तनहुँ बन्दीपुरका कृष्णलाल प्रधानलाई लिएर पुष्पलाल श्रेष्ठले कट्टेल डाँडामा आई २००८ सालमा कमरेड बैकुण्ठ कट्टेलको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी गोरखा स्थापना गरेका थिए । पार्टी प्रतिबन्धित रहेकाले गाउँ–गाउँमा संगठन गर्न गाह्रो थियो । त्यसैले २०१० सालमा बैकुण्ठ कट्टेलकै अध्यक्षतामा अखिल नेपाल किसान संघ गोरखा गठन गरियो । 

२०११ सालको अतिबृष्टिले ठूलो बाढीपहिरो आयो, बालीनाली तहसनहस भयो । अनिकाल, भोकमरी लाग्यो । साहु–सामन्तले अन्न लुकाएर राखे । अहिलेजस्तो बाटोघाटोको सुविधा नभएकाले बाहिरबाट अन्न ल्याउन सकिन्नथ्यो । यस्तो बेला किसान संघले सामन्तले लुकाएर राखेका अन्न भोकमरीमा परेका किसानलाई बाँड्ने कार्यक्रम बनायो र जिल्ला पार्टीले ठूलो आँगनमा विशाल जनसभा आयोजना गर्‍याे । सो सभालाई संबोधन गर्न काठमाडौंमा अध्ययनरत नेता पनि आए । हिक्मतसिं भण्डारी, कदमकुमार श्रेष्ठलगायतले भाषण गरे । २०१३ वैशाख ३ गते पार्टीमाथिको प्रतिबन्ध हटेपछि असारमा धुवाँकोट रातमाटेमा प्रथम भेला आयोजना भयो । गाईखुर निवासी इन्द्रदत्त पन्त सेक्रेटरी चुनिए । २०१५ सालको आम निर्वाचनमा पार्टीले (गोरखा दक्षिण क्षेत्र नं. १०४) बाट केन्द्रीय सदस्य हिक्मतसिं भण्डारी र (गोरखा उत्तर क्षेत्र नं. १०५) मा जगतबहादुर श्रेष्ठलाई टिकट दियो । दुवै जना पराजित हुनुभयो । 

उक्त चुनावपछि गोरखामा कम्युनिष्ट आन्दोलन शिथिल भयो । २०१७ सालमा पालुङटारमा कमरेड जगतबहादुर श्रेष्ठले गाईखुर निवासी कमरेड रणबहादुर आलेको संयोजकत्वमा रामलाल श्रेष्ठ, ओजराज भट्टराई र पिताम्बर जोशीलाई समावेश गरी जिल्ला पार्टी कमिटी गठन गर्नुभयो । 

२०१९ सालपछि पार्टी गुट उपगुटमा विभाजित भई बहु केन्द्र बन्न गयो । २०२१ सालमा कास्की लामाचौर घर भएका पोलिट्ब्युरो सदस्य बलराम उपाध्याय पालुङटार आएर रणबहादुर आले र ओझराज भट्टराईलाई भेटी फर्किए । २०२१ देखि २०३१ सम्म रणबहादुर आले एक्लैले जिल्ला पार्टीको प्राण बचाएर राखेका थिए । २०२६ सालमा अमरज्योति मावि लुइँटेलमा शिक्षक भएर आएका वाचस्पती देवकोटासँग २०३१ सालमा रणबहादुर आलेको भेट भयो । वाचस्पतीको सहयोगमा पुनः रणबहादुर आलेलाई नै सेक्रेटरी बनाई ५ सदस्यीय जिल्ला पार्टी पुनर्गठन गरियो । यही समितिले २०३६ सालमा प्रथम जिल्ला सम्मेलन गर्‍याे र सेक्रेटरीमा वाचस्पती देवकोटा चुनिए ।

२०४१ सालको दोस्रो जिल्ला सम्मेलनले निर्मल जोशीलाई सेक्रेटरी चुन्यो । २०४२ सालमा निर्मल जोशी पातलो मसालतिर लागेपछि श्रीनाथ अधिकारी सेक्रेटरी चुनिए । २०४४ सालमा अर्को पटक जिल्ला पार्टी पुनर्गठन हुँदा चितवनका शम्भु कट्टेल सेक्रेटरी बनाइए । अर्को पटक २०४५ सालमा जिल्ला पार्टी पुनर्गठन हुँदा रामबहादुर थापा बादल सेक्रेटरी चुनिए । २०४६ सालमा बादल हटेर भवनाथ अधिकारी सेक्रेटरी चुनिए । २०४७ सालबाट श्रीनाथ अधिकारी जिल्ला सेक्रेटरी बने । श्रीनाथ अधिकारी सेक्रेटरी भएकै अवस्थामा २०४८ को आमनिर्वाचन भयो । निर्वाचन क्षेत्र नं.१ बाट श्रीनाथ अधिकारी, २ बाट सुरेश वाग्ले र ३ बाट भक्ति लामिछाने संयुक्त जनमोर्चा नेपालको टिकटमा उठे । तीनै जना पराजित भए ।

२०४८ सालमा तेस्रो जिल्ला सम्मेलन भयो । यो सम्मेलनबाट सुरेश वाग्ले ‘बासु’ सेक्रेटरीमा निर्वाचित भए । बासु सेक्रेटरी रहिरहेकै अवस्थामा २०५२ फागुन १ गते जनयुद्ध शुरु भयो । २०५३ असोजमा सुरेश केन्द्रीय सदस्यमा बढुवा भएपछि हितराज पाण्डे सेक्रेटरी बने । २०५४ सालमा हितराजको बढुवा भएपछि शंकर घिमिरे ‘शिशिर’ सेक्रेटरी चुनिए । २०५५ सालमा फेरि हितराज पाण्डे नै सेक्रेटरी भए । २०५७ सालमा हितराजको पुनः बढुवा भएपछि शंकर घिमिरे सेक्रेटरी बने । २०५८ मा शंकर घिमिरे गिरफ्तारीमा परेपछि हरि अधिकारी ‘कुमार’ सेक्रेटरी भए । अर्को वर्ष २०५९ मा कृष्ण धिताल सेक्रेटरी बने । कृष्ण धितालपछि परशुराम रम्तेल र लोकप्रसाद बञ्जरा अनि चुडामणि खड्काले सम्हाले । संविधानसभाको चुनावमा क्षेत्र नं. १ बाट पार्वती थापा, २ बाट डा.बाबुराम भट्टराई र ३ बाट अमर तमु निर्वाचित भए । २०६९ असारमा पार्टी विभाजन भयो । क्रमश :...
 

टिप्पणीहरू