सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गतको पोलिटिकल ब्यूरो सदस्य तथा चोङछिङ नगर कमिटीका प्रमुख एवम् सचिव युआन च्याच्युनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक आदानप्रदानबारे कुराकानी भएको जानकारी दिइएको छ । सभामुख घिमिरेले चिनियाँ राष्ट्रिय जन काँग्रेसका स्थायी समिति अध्यक्ष ली चानशुको गतवर्षको भ्रमण र नेपालका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हालैको चीन भ्रमणले संसदीय आदान प्रदान प्रगाढ हुँदै गएको बताउनुभएको थियो ।
चिनियाँ पाहुना टोलीका नेता युआनले आफू चिनियाँ राष्ट्रपति चिनफिङको निर्देशनमा नेपाल भ्रमणमा आएको उल्लेख गर्दै ८० लाख चिनियाँ युआन अर्थात् झण्डै १४ करोड रुपैयाँ सहयोगको घोषणाको जानकारी दिनुभएको छ । उहाँले सभामुख घिमिरेलाई चीन भ्रमणको निम्तो समेत दिनुभएको छ ।
यसअघि उहाँहरुले कलंकीस्थित एलआरआई स्कुलमा आज बिहान भाषा ल्याबको संयुक्त उद्घाटन गर्नुभएको थियो ।