सशस्त्रमा माथि जाम,तलचाहिँ दिनहुँ बढुवाको काम

सशस्त्रमा माथि जाम,तलचाहिँ दिनहुँ बढुवाको काम

सशस्त्र प्रहरी बलमा नयाँ आर्थिक वर्ष शुरु भएसङ्गै बढुवाको क्रमले गति लिएको छ । जबकि प्रशासनिक मूल्य मान्यताअनुसार पहिले सबैभन्दा माथिल्लो तह र पदमा बढुवा सकाएपछि क्रमैसँग तल्लो तहमा बढुवा गर्नुपर्ने थियो । यहाँ भने त्यसको ठीक विपरीत जनशक्ति संगठन चार्टको उल्टोबाट बढुवा दिन थालिएको छ ।

जसअनुसार साउन १६ गते वरिष्ठ नायव निरीक्षक ५० जनाको बढुवा भएको छ । भोलिपल्ट १७ गते २७ जनाको प्राविधिक सशस्त्र प्रहरी हवल्दारमा पदोन्नती भएको छ । त्यसको पाँच दिनपछि साउन २२ गते एक हजार ९२७ जना प्रहरी हवल्दारमा बढुवा सिफारिस भएका छन् ।

त्यस्तै साउन २४ गते सशस्त्र प्रहरी सहायक निरीक्षक र तीन जना प्राविधिक डिएसपीको बढुवा प्रक्रिया अघि बढाइएको छ । उक्त प्रक्रियामा ८२ जनालाई सशस्त्र प्रहरी सहायक निरीक्षक बनाईंदैछ । स्वास्थ्य र इञ्जिनियरिङतर्फ डिएसपीको बढुवा भएको छ । डाक्टरहरुले बढुवाको फुलीसमेत लगाइसकेका छन् । प्रशासनतर्फका अन्य माथिल्ला पदमा बढुवा भएको छैन । 

तल्लो तहको बढुवाका क्रममा साउन २५ गते ७३ जना सईलाई इन्सपेक्टरमा बढुवाको सिफारिस र २६ गते तीन हजार ८७१ जना जवानलाई सहायक हवल्दारमा बढुवा गर्ने प्रक्रिया अघि बढाइएको छ ।

दिनहुँझैँ बढुवा भएको देखिए पनि यो नियमित प्रक्रिया रहेको सशस्त्रका अधिकारीहरुको दाबी छ । नयाँ महानिरीक्षक राजु अर्यालको कार्यकालको पहिलो वर्ष बढुवा नभए पनि यो वर्ष धमाधम भइरहेको छ । एक जना एसपीले भने, ‘अर्यालअघिका महानिरीक्षकको पालामा पनि छिटपुट भएको थियो । पुष्पराम केसी २१ दिन हाकिम हुँदा बढुवा गर्न भ्याएका थिए । त्यतिबेला तीन जना कामु एसएसपी,एसपी र डिएसपीको बढुवा गरेका थिए । लेखातिर १० जनाको दरबन्दी थपिएको थियो ।’

टिप्पणीहरू