मृत्यु जितेर कृतिको मुस्कान

मृत्यु जितेर कृतिको मुस्कान
सुन्नुहोस्

मृत्युलाई जितेर फर्किएका अर्थात् पुनर्जन्म पाएका बैंकर हुन् अश्विनकुमार पुडासैनी । गत वर्ष २६ साउनमा कर्णाली प्रदेशस्थित नेपाल बैंकको शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा एक्कासी हृदयाघात भयो ।

व्यवसायी ज्योति अधिकारीहरूको सहयोगमा रेस्क्यु गरेर उनलाई बाँसबारीस्थित गंगालाल हृदयरोग अस्पतालमा पु¥याइयो । डा अरुण मास्केको उपचार र उज्यालो मृत्युको नौ दिनपछि उनी आइसियुबाट डिस्चार्ज भएर घर फर्किए । पुनर्जन्म पाएका पुडासैनीले मृत्युलाई नजिकबाट साक्षात्कार गरे पछि देश र जनतालाई केही योगदान दिने अठोट गरे मनमनै र सुशासन र समृद्धिका लागि १०१ पाइला भनेर देश विकासका लागि विविध आयामबारे तयार पारे ‘समृद्धिको हुटहुटी’ । र, मृत्युलाई नजिकबाट देखेको ठ्याक्कै वर्ष दिनपछि डा अरुण मास्के, प्रा.डा कृष्ण हाछेथु, नेपाल बैंकका सिइओ कृष्णबहादुर अधिकारी, डा ध्रुव आचार्य, कृष्णमुरारी भण्डारी, भाषाविद् शरद्चन्द्र वस्तीलगायत विज्ञलाई साक्षी राखेर गत शुक्रबार कृति सार्वजनिक गरे, बागबजारको हार्दिक होटलमा ।

पुस्तकमा देशको सुशासन, समृद्धिका लागि कर्मचारीतन्त्र, कूटनीतिक क्षेत्र, सुरक्षा निकाय, राजनीतिकलगायत थुप्रै क्षेत्रमा सुशासन ल्याउन आवश्यक तत्वबारे चर्चा मात्र गरिएको छैन राजनीतिक दलले ल्याउनुपर्ने घोषणापत्रदेखि सरकारले ल्याउनुपर्ने वार्षिक कार्यक्रम नीति, बजेटमा उल्लेख गर्नुपर्ने बुँदा र कार्यान्वयनका लागि अपनाउनुपर्ने सजगतासम्मको सुझाव दिएका छन्् पुडासैनीले । पुस्तकमा प्रत्येक नेपालीको बैंक खाता, जन्मदर्तास्ँगै स्वास्थ्य बिमा, एउटै नेसनल पेमेन्ट गेटवे सिष्टम, कागजी नोट सयको मात्र बनाउनसमेत सुझाइएको छ । यस्तै पुस्तकमा १० पास गरेपछि हलो छाड्ने र प्लस टु गरेपछि थलो छाड्ने युवा जमातलाई कसरी नेपालमै टिकाउन सकिन्छ भन्ने सकारात्मक पक्ष औँल्याइएको छ । 

नेपालको जल क्षेत्र, झरना, खोला, पोखरीको संरक्षण, वनजंगल, फोहोर व्यवस्थापन, भूमि बैंक, आइडिया बैंकबारे समेत चर्चा गरिएको छ पुस्तकमा । मैले तिरेको कर मेरै लागि, एक सय एक नयाँ शहर, निर्वाचन प्रणालीमा सुधार, आइडिया बैंक स्थापनामा समेत जोड दिइएको छ । प्राडा कृष्ण हाछेथु त यो पुस्तक नेपाली समाज, विश्वविद्यालय र राष्ट्रकै लागि उपयुक्त सामग्रीका साथ प्रकाशन भएको बताउँछन् । यसअघि पुडासैनीको कृति ‘बत्तीमुनिको उज्यालो’ प्रकाशन भइसकेको छ । 
 

टिप्पणीहरू