एउटा मौन विद्रोहीको अवसान र श्रद्धाञ्जलीको बुकी

एउटा मौन विद्रोहीको अवसान र श्रद्धाञ्जलीको बुकी

जीवन श्रेष्ठ 

एउटा अचम्मको मौनता देखिन्थ्यो उ भित्र । तर आँखाहरु कता कता आगो ओकलिरहे जस्तो । मस्तिष्कलाई संयमित पार्दै, मनलाई स्थिरतामा वाँध्दै ओठमा मौनताको ताल्चा  लगाइरहन्थे तर फेरि पनि त्यही मौनताभित्र एउटा भद्र विद्रोहको मन्द हाँसो छचल्किन्थ्यो उनको ओठमा । उनको ओठमा त्यो मौनताको विद्रोह देखेथे एमाले नेतृत्वले पहिलो पटक संसद विघटन गर्दै संविधानको हत्या गर्दा र पछिल्लो पटक बाकै आदेशमा संसद अवरुद्ध हुँदा । त्यही मौन विद्रोहको  हाँगा हाँगामा बाँच्दा बाँच्दै अन्ततः उनको जीवन यात्राको अन्त भयो र उनको सम्झनाको भद्र छवि मात्र बाँकी रह्यो ।

२०८० भदौ २६ गतेको बिहानलाई एउटा अशुभ अनि कालो बिहानको रुपमा छाडेर उनी अर्थात संविधानसभाका अध्यक्ष, पूर्व सभामुख, एमाले उपाध्यक्ष सुवास नेम्वाङ अकल्पनीय र अनन्त यात्रामा निस्किए, अब कहिल्यै नफर्कने गरेर ।

सहमति र सहकार्यको पर्याय नेम्वाङको अवसानले नेपाली राजनीतिले एउटा अपूरणीय क्षति व्यहोरेको छ । शालिनता, भद्रता र शिष्टताका त्रिवेणी उनी न कहिल्यै रिसाउन नै जाने, न त कसैप्रति कटुताको कबड्डी नै खेल्न तम्से । पार्टी अध्यक्षले जस्तै व्यङ्ग्य गर्ने ल्याकत नभएको पनि होइन उनीसँग । अहिलेका मै हुँ भनिएका भुरे टाकुरे युवा र नयाँ भनिएका राजनीतिक प्राणीहरुसँग जस्तो मनमौजी गर्ने, जे मन लाग्यो त्यही बोल्ने, अरुलाई खुइल्याउने अनि अराजकता देखाउने जस्ता अवाञ्छित ताकत नभएका पनि हैनन् । तर शालिनता र सभ्यताका सयपत्री उनी, उनले त्यो हर्कत कहिल्यै पनि प्रदर्शन गरेनन् । निष्ठा र आस्थाको आँगनमा अनुशासन, नीति र नियमको घाम ताप्दै बाँचेका उनीसँग शालिनता र भद्रता सिवाय अरु केही थिएन । 

त्यसैले त मौन बस्थे तर विद्रोहरुपी मौन । नेतृत्वले संसदको सास खिच्दा उनी मौन नै बसे । उनलाई थाहा थियो संविधानको परिकल्पनाले विकल्प छउञ्जेल संसद विघटनको मार्ग प्रशस्त गरेको छैन भनेर । त्यही भएर त उनी निकटस्टथहरुसँगको बातचितमा संसद विघटनको विपक्षमा देखिएको उ बेला चर्चा चलेकै हो । उनले निकटस्थहरुसँग यस विषयमा ब्रिफिङ गर्दा संविधानले यसरी प्रतिनिधिसभा विघटनको बाटो नदिएको बताउने गरेको चचार्, चर्चा मात्र होइन होला । जसलाई अन्तत ः अदालतले प्रमाणित गरिदियो । नेतृत्वको बढ्दो अहमताविरुद्ध अराजकताको अस्त्र फाल्नुभन्दा पनि उनी मौन पहाड जस्तै विद्रोही बनेर ठिङ्ग उभिरहे । उनलाई थाहा थियो कि काला बादलहरु जतिसुकै गर्जँदै पहाडसँग ठोक्किए पनि पहाडलाई हल्लाउन सक्दैन भनेर । त्यही भएर उनी मौन पहाड भए । विद्रोहको मौन पहाड बनिरहे ।

पार्टी नेतृत्वको चुलिँदो अहमताको उकालोलाई वेशीमा झार्न सितिमिति शक्तिले पुग्दैन भन्ने पनि  राम्ररी बुझेका उनी १० भाइको नियति बन्न पनि त चाहँदैन थिए । विद्रोहको नाउँमा फेरि घरै फोडेर हिँड्नु पनि त काइदा हैन । त्यसैले हरेक पत्थरका जवाफलाई इट्टाले भन्दा पनि कोमल फूलले दिनुपर्छ भन्ने मान्यता उनीसँग थियो । फूल जस्तै सुन्दर स्वभावका कारण पनि उनले सुन्दर विद्रोहको पक्षपोषण गरिरहे । नेतृत्वको गलत प्रवृत्ति र अहमतालाई उनले न त अरुले जस्तै चाटुकारको तालि बजाएर भजाउने काम गरे, न त अराजक ढंगको विद्रोह नै रोजे । फेरि पनि मौन विद्रोह, भद्र विद्रोह भने गरिरहे । जसको दृष्टान्त पछिल्लो पटक एमालेले गर्दै आएको संसद अवरुद्धको सन्दर्भमा उनले दिएको अभिव्यक्तिलाई लिन सकिन्छ ।

निरन्तरको संसद अवरुद्धबाट आजित बनेका उनीसँग मौनव्रत तोड्नुको विकल्प पनि त थिएन । तर विकल्पको नाउँमा अशिष्ट र अराजकबाट टाढा रहेका उनी उनले फेरि उही मौन तर शालिन ढंगबाट आफ्नो विचारको उडान भर्ने काम गरे । कानूनविदको रुपमासमेत परिचित उनले विद्यमान नीति नियमलाई नै निफन्दै भनेका थिए, ‘संसदमा अवरोध भन्ने कुरा नियमसंगत होइन, संविधानले अवरोध गर्ने कुरालाई अनुमति दिएर राखेको छैन ।’ नेतृत्वकोे अहम्ताको आँगनमा हुर्किएको संसद अवरुद्ध विरुद्धको यो अभिव्यक्ति पनि उनको मौन विद्रोह नै थियो । 

नेतृत्वको अहम्ता विरुद्ध विद्रोह गर्ने आँट एमालेभित्रै सायदै देखिन्छ । मौन विद्रोह गरेरै भए पनि पार्टीलाई सुन्दर बनाउने उनको अभिलाषा उनको शेषपछि सफल होला वा नहोला, त्यो समयले बताउला तर उनको देहावसानले पार्टीभित्रको गलत प्रवृत्ति झन चुलिने देखिन्छ । यसको मारमा सिंगो एमाले पर्नेछ र भनिरहनु पर्दैन यस्तै अहमता रहिरहने हो भने आगामी दिनमा एमालेको यात्रा सकसपूर्ण हुनेछ ।

सभामुख जस्तो गरिमामय पदमा रहिरहँदा न उनी विवादित बने, न प्रतिनिधिसभाको गरिमालाई नै कहिल्यै धमिल्याउने काम गरे । विवादलाई मिहीन ढंगबाट अध्ययन गर्दै समस्या समाधानार्थ उनी सँधै सहमति र सहकार्यका लागि शालिन ढंगबाट प्रस्तुत भइरहन्थे । मृदु बोली र मिजासिलो स्वभावका नेम्वाङले कहिल्यै पनि निर्वाचनमा पराजित हुनुपरेन तर आज एक्कासी जीवनबाट पराजित भएको खबरले धेरैलाई स्तब्ध तुल्याएको छ । शोकको यो घडीमा नेतृत्वको अहमता विरुद्धको एक मौन विद्रोहीप्रति श्रद्धाका रातो थुङ्गा समर्पण गर्दछु ।

टिप्पणीहरू