प्रमुख प्रशासकीय अधिकृत हिँडेपछि गाउँपालिकाको काम ठप्प

प्रमुख प्रशासकीय अधिकृत हिँडेपछि गाउँपालिकाको काम ठप्प

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिना जानकारी हिँडेपछि सबै काम ठप्प भएका छन् । उनको अनुपस्थितिपछि अन्य कर्मचारीले समेत मर्कामा परेको बताएका छन् । 

कार्यालयलाई कुनै जानकारी नै नगराईकन उनी हिजो बिहान सबेरै घर गएपछि कर्मचारीको तलब र ठेकेदारहरुको भुक्तानी रकम रोकिएको छ । दशैं अगाडि पाउनुपर्ने तलब रोकिएपछि कर्मचारीहरु आक्रोशित बनेका हुन् । 

हाल गाउँपालिकाबाट हुने सम्पूर्ण भुक्तानी ठप्प भएको अध्यक्ष लोकेन्द्र राईले बताए । रेग्मी हिँडेपछि अन्य टाढा पुग्ने कर्मचारीलाई समस्या परेको छ । २४ घण्टाभित्र उपस्थित हुन निर्देशन दिएपनि उनी अझै कार्यालयमा हाजिर भएका छैनन् । 

‘उहाँ हिजो बिहान जानकारीबिना घर जानुभएछ । हामीले दिनभरि फोन गर्यौं, उठाउनुभएन । सिडियोलाई भनेपछि प्रहरीमार्फत खोजतलास शुरु भयो । अनि बल्ल सम्पर्कमा आउनुभयो । मैले तत्काल कार्यालयमा हाजिर हुनु भनेको थिएँ । तर, अहिलेसम्म कुनै अत्तोपत्तो छैन’, उनले भने । 

उनी हिँडेपछि धेरै वटा भुक्तानी रोकिएको अध्यक्ष राईले जानकारी दिए । कर्मचारीको तलब, सिँचाई योजना, भवन निर्माण, बाटोघाटो सरसफाइलगायतको भुक्तानी रोकिएको छ । रेग्मी गत भदौ २९ गतेदेखि उक्त गाउँपालिकामा कार्यरत छन् ।

टिप्पणीहरू